विराटनगरः मोरङको धनपालथान गाउँपालिका–४ बाट भन्सार चोरी पैठारी गरी भित्रयाइएको २ हजार ४६० केजी चिनीसहित चारजना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४७ हजार रुपैयाँ बराबरको चिनीसहित पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
रङ्गेली नगरपालिका–१ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका–१ का १७ वर्षीय दीपककुमार मण्डल, १८ वर्षीय अर्जुनकुमार मण्डल र १९ वर्षीय रुपेश मण्डललाई निजहरुले चिनी ओसार पसार गर्न प्रयोग भएको को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
यसैगरी सुनवर्सी नगरपालिका-७ बाट अबैधरुपमा चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी रू १६ लाख मूल्य बराबरको ट्रयाक्टर बरामद भएको छ ।
प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीले टयाक्टर नियन्त्रणमा लिएको हो । बरामद भएको चिनी तथा ट्याक्टर समेत आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।