Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमै जहाँ बाह्रै महिना पानीको समस्यै छैन

हाम्रो कोशी आवाज
पुष ६ २०७७, सोमबार
धरानमै जहाँ बाह्रै महिना पानीको समस्यै छैन

धरानः धरानमा खानेपानी व्यवस्थापन उपभोक्ता समितिको नवनिर्मित भवन र सभाहलको उद्घाटन भएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सो भवन तथा सभाहलको उद्घाटन गरे । कार्यक्रममा प्रदेश १ सांसद उमिता विश्वकर्मा, धरान उपमहानगरपालिकाका मेयर तिलक राई तथा उपमेयर मञ्जु भण्डारी समेत उपस्थित थिए ।
यो धरान–११ र १७ को खानेपानीको भवन हो । यो जनताले ल्याएको खानेपानी हो र अहिले बनेको भवन पनि आफ्नै उपभोक्ताबाट कमाइएको रकमले बनेको हो । १६ लाख ११ हजार १ सय १५ रुपैयाँको लगानीमा भवन बनेको सचिव इन्द्र राई (काम्दुङ) ले बताए । ‘खासमा यो खानेपानी जनश्रमदान र जनताबाटै ल्याइएको हो’, उनले भने, ‘यो भवनमा पनि जनताकै लगानी छ ।’
त्यहाँको जनताले दुईवटा मुहानको स्रोतबाट आएको पानी उपभोक्ताले खाइरहेका छन् । त्यहाँका जनताले विष्णुपादुकाको कोकाहा र पकुवा खोलाको पानी खान्छन् । अहिले त्यहाँ ६ सय ३५ निजी धारा रहेको र १८ सय घर परिवार लाभान्वित रहेका छन् । अहिले त्यहाँ १ लाख ८० हजार क्षमताको ट्याङकी राखेर पानी वितरण हुँदै आएको सचिव राई बताउँछन् ।
धरानमा धेरै वडामा पानीको समस्या छ तर त्यहाँ पानीको समस्या छैन । ‘बाह्रै महिना समस्या हुँदैन, अहिलेसम्म यहाँका जनताले पर्याप्त पानी खाइरहेका छन्’, सचिव राईले भने ।
शुरु गर्दा निकै समस्या
अध्यक्ष अरुण कटुवालका अनुसार यो खानेपानी आयोजना २०५८ सालदेखि पहल हुँदै सञ्चालनमा आएको हो । पानी उपभोग गरेवापत विष्णुपादुका (हाल धरान उपमहानगरपालिका) गाविसलाई सहयोग गर्ने सहमति बनेपछि पानी आएको हो ।
‘पहिला विष्णुपादुकाका वन, जंगल, खोला संरक्षण रेखदेखलाई सहयोग गर्ने सहमति बनेपछि पानी आएको हो’, उनले भने, ‘त्यतिबेला दाताको रकम तथा जनश्रमदानले १६ एमएम, त्यसपछि ३२ एमएमको पोलिथिन पाइपबाट वस्तीका लागि खानेपानी ल्याइएको हो ।’
अहिले विष्णुपादुका मन्दिर मुनि पानीको मुहान थप, टंकी निर्माण, मुहान संरक्षण तथा वृक्षारोपण, सर्दुखोलामा पाइप तर्ने आरसिसी पिलर निर्माण भइसकेको उनले जानकारी दिए ।
‘त्यतिबेला दुःखले पानी ल्याइयो’, सचिव राईले भने, ‘चिउरा–भुजा खाँदै हिँडियो, संघसंस्थाबाट सहयोग मागियो तर कतैबाट सहयोग आएन । पूर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाले दिएको नगद दुई लाखले सरसामान किनियो, सभासद् बनेका किरणकुमार राईले १ लाख दिए, लुमन्ती भन्ने संस्थाले ५९ हजार, युनिसेफले पाइपलाइनका लागि ठूलो पाइप अनुदान दिएको थियो ।’
उनका अनुसार त्यतिबेला जिविस सुनसरीले १० लाख बजेट दिएको बताए । यस्तै, नेपाल शेर्पा संघ, सुनुवार सेवा समाज, किरात राई यायोक्खा, आत्मज्ञान प्रचार संघ, सेतो गुराँस लगायत संस्थाबाट पनि सहयोग र सहकार्य मिल्दै गएको उनले बताए ।
‘हालसम्म पनि संस्थालाई राज्यबाट केही सहयोग छैन’, सचिव राई भन्छन्, ‘त्यही भएर पनि मुख्यमन्त्री राईलाई ल्याएका हौं, मुख्यमन्त्रीलाई महसुस हुन्छ र हाम्रो अपेक्षाले मूर्त रुप लिनेछ भन्नेमा आशावादी छौं ।’ तस्वीरहरुः लक्ष्मण थापा

 

प्रकाशित मिति: पुष ६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend