धरानः धरान खानेपानी आयोजना असफल भएको दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समितिले जनाएको छ ।
धरानमा पत्रकार सम्मेलन गर्दै समितिले जारी गरेको विज्ञप्तिमा आयुडिपीले खानेपानी आपूर्ति गर्न नसकेको जनाइएको छ । ‘३ अर्ब २९ लाख खर्चेर सञ्चालनमा आएको आयोजनाले खानेपानीको समस्यालाई सम्बोधन गर्न नसक्नेले सो आयोजना असफल भएको र चरम लापरवाही र ठूलो भ्रष्टाचार प्रमाणित भइसकेको छ, साथै जनताका न्यायोचित माग पनि सम्बोधन गर्न नसक्नेले धरान खानेपानी व्यवस्थापन बोर्ड असक्षम रहेको प्रमाणित भइसकेको छ, त्यसैले असफल आयोजनाको पछि नलाग्न र खानेपानी संस्थानको शाखालाई बोर्डमा समायोजन गर्न हुँदैन ।’
संघर्ष समितिका संयोजक हर्क साम्पाङले धारा जडानका लागि भनेर २०७२ सालमा पैसा लिएर २०७७ सालसम्म पनि धारा वितरण गर्न नसक्नु, १ करोड ५२ लाख २० हजार लिटर प्रतिदिन खानेपानी उत्पादन गर्छौं भनेर गरेको सम्झौता मुताविक काम गर्न नसक्नु, दैनिक १६ घण्टासम्म पानी वितरण गर्ने भनेर प्रचार गरेपनि दुई वा तीन दिनमा एक चोटी १५–२० मिनेट मात्रै पानी आउनु, सरकारी दरमा महसुल लागू गर्ने भनेर सम्झौतामा भनेपनि त्यसो नगरी उपभोक्तालाई शोषण गरिरहनु, आयोजनाको खर्च प्रतिवेदन सार्वजनिक नगरिनु आदि कारणले पनि यो असफल आयोजना भएको बताए ।
उनले खानेपानी संस्थानमा आइयुडिपीलाई गाभ्नुपर्ने बताए । ‘खासमा भन्ने हो भने असफल आयोजना (आयुडिपी) लाई चाहिँ संस्थानमा गाभ्नुपर्छ ।’ उनले भने । उनले धरानका धेरै दलले पैसा खाएको आरोप समेत लगाए । उनले २०७१ कार्तिक २२ गते ११ बुँदे सम्झौता गरी आइयुडिपीका लागि विदेशी ऋण स्वीकृत गर्ने प्रक्रियामा सहमति जनाउने सबै व्यक्तिहरुले यो आयोजना असफल हुनुको कारण जनतालाई बताउनुपर्ने र दोषीउपर कारवाहीको पहल गर्न सहयोगी भूमिका खेल्नुपर्ने बताए ।
तस्वीरहरुः लक्ष्मण थापा



