धरानः धरानमा सुनचाँदी व्यवसायी संघ सुनसरीको प्रधान कार्यालयको आफ्नै भवन बनेको छ ।
धरानको पुरानो बजारस्थित हनुमान मन्दिरको गल्लीमा घरजग्गासहित ६५ लाख रुपैयाँको लगानीमा भवन बनेको हो । व्यवसायी र दाताको सहयोगले भवन बनेको हो ।
सोमबार भवन समुद्घाटन, २१ औं वार्षिकोत्सव, छैटौं साधारणसभा सम्पन्न भएको छ । सोमबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमपछि भवनको उद्घाटन प्रदेश १ का सभामुख प्रदीप भण्डारीले गरेका थिए ।
कार्यक्रममा बोल्दै सभामुख भण्डारीले व्यवसायलाई उपेक्षा नगरेर व्यवसायीको हकहितको लागि आवश्यक कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । २०६६ सालमा निर्देशिका बनेतापनि संविधानमा उल्लेखित एकल सूचीका कारण कानुन कार्यान्वयन हुन नसकेको उनको धारणा थियो । उनले व्यवसायलाई मर्यादित र सुरक्षित बनाउन आफू लागिपर्ने बताए ।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै निवर्तमान अध्यक्ष कृष्ण मास्केले आफ्नो कार्यकालमा भवन निर्माणको जिम्मेवारी पूरा गरेको बताए । उनले सम्पूर्ण व्यवसायी, दाताले होस्टेमा हैसे गरेकोले भवन बनाउन सकिएको बताउँदै सबैलाई धन्यवादसमेत दिए । व्यवसाय गर्न राज्यको ठोस नीति र कानुन नबन्दा कठिन भएको उनको तर्क थियो । उनले व्यवसायीले व्यवसाय गरेर फाइदा मात्रै लिने काम नगरी राज्यलाई पूरा गर्नुपर्ने दायित्व पनि निर्वाह गर्दै आएको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष मोहनकाजी शाक्य, उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, सुनसरी उवासंघका पूर्व अध्यक्ष सरोज श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा भवन निर्माण गर्न सहयोग पुरयाउने दातालाई दोसल्ला र सम्मानले सम्मान गरिएको थियो ।
यसैबीच संघको अध्यक्षमा राजेश अग्रवाल अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।
उपाध्यक्षमा राजेश श्रेष्ठ, सचिवमा रोहन हाडा, कोषाध्यक्षमा मनोज अग्रवाल र सहसचिव अमेश श्रेष्ठ चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा विद्या शाक्य, मानबहादुर विश्वकर्मा दियाली, हिरा श्रेष्ठ, वसन्त राई, कुमार श्रेष्ठ र विजय श्रेष्ठ चयन भएका छन् । तस्वीरहरुः लक्ष्मण थापा
















