धरानः इलाका प्रहरी कार्यालय धरानले दुईवटा पेस्तोलसहित पक्राउ परेका युवालाई सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले धरान-१५ बाट दुई युवा समातेपछि सार्वजनिक गरेको हो । डिएसपी ज्ञानेन्द्र बस्नेतले सो पेस्तोल सुत्ने पलङभित्रको घर्रामा लुकाएर राखिएको अवस्थामा फेला पारेको जानकारी दिए । ‘गोप्य सूचनाका आधारमा खानतलासी गर्दा ती युवाको घरको सुत्ने पलङभित्रको घर्रामा पेस्तोल भेटिएको छ’, इलाका प्रहरी कार्यालय धरानका डिएसपी बस्नेतले भने, ‘पेस्तोल भेटिएपछि दुई युवा पक्राउ गरेर सार्वजनिक गरेका हौं ।’ पलङ मुनि कपडाले बेरेर राखिएको अवस्थामा हतियार भेटिएको उनले जानकारी दिए ।
पक्राउ पर्नेमा धरान–१५ सयपत्री मार्गका २७ वर्षीय देवीबहादुर लिम्बू र २६ वर्षीय रसुन राई रहेका छन् । देवीबहादुरको घरको कोठामा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनु्सार लागूऔषध हुनसक्ने सूचनाका आधारमा कार्यालबाट खटिएको प्रहरी टोलीले लिम्बूको घरको कोठामा रहेका उनीहरूको साथबाट २ थान युएस लेखिएको पेस्तोल र १ थान खाली म्यागजीन बरामद गरेको जनाएको छ ।
कुन प्रयोजनका लागि पेस्तोल राखिएको थियो भन्ने खुलेको नसकेको उनले जानकारी दिए । उनीहरुले कुन प्रयोजनका लागि सो पेस्तोल राखेका हुन् भन्नेबारेमा केही खुलिसकेको छैन तर आफूहरू लागूऔषध प्रयोगकर्ता भएको भने स्वीकारेका छन्’, उनले भने, ‘उनीहरूलाई अदालतबाट थप गरी थप अनुसन्धान भइरहेको छ ।’



