धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका होस्टलमा साथी लिएर प्रवेश गरेका दुई विद्यार्थी गुण्डागर्दी शैलीमा उत्रिएर तोडफोड गरेका छन् ।
प्रतिष्ठानमै एमबिबिएसमा अध्ययनरत विद्यार्थी वर्ष २६ को रोशन यादव र वर्ष २७ को केशव यादवले तोडफोड गरेका हुन् । रोशन विराटनगर–१३ का हुन् भने केशव सप्तरी त्रिकोल–४ का बासिन्दा हुन् । उनीहरुले मादक पदार्थ सेवन ग रेर छात्रबास (१ नं. ब्वाइज होस्टेल) मा पुगेर तोडफोड साथै बितण्डा मच्चाएका थिए । तोडफोडमा उत्रिएपछि उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
मादक पदार्थ सेवन गरेर तोडफोड गरी ढोका तथा झ्यालको शिशाहरु फुटाइएर क्षती पुरयाएको भन्ने उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप अनुमती लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
आइतबार राति ११ बजे प्रतिष्ठानको छात्रबासमा पसेर उनीहरु तोडफोडमा उत्रिएका थिए । मादक पदार्थ सेवन गरेका यादवले सप्तरी भारदहका साथी केशवलाई पनि अवैधरुपमा होस्टलमा प्रवेश गराएका थिए । सोही क्रममा उनका साथीहरुबीच भएको विवादको क्रममा झैझगडा तथा तोडफोड भएको खुलेको छ ।
प्रतिष्ठानभित्रको होस्टलमा त्यहाँ अध्ययनरत विद्यार्थीबाहेक अन्य व्यक्तिहरु प्रवेश गर्न पाइँदैन । यादवले आफ्ना साथीलाई प्रवेश गराएका थिए । यस विषयमा अस्पतालको सुरक्षा प्रशासनले पनि छानबिन गर्ने जनाएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष शिवेन्द्र झाले होस्टलको मुख्य ढोकाबाट प्रवेश गरेका उनीहरुले शिशा फुटाएका छन् । साथै उनीहरुले अन्य इन्टर्न तथा विद्यार्थीहरुलाई पनि गुण्डागर्दी शैली धम्क्याएको पाइएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।
