धरानः धरानमा दुई युवाले लगाएको पाइन्टको गोजीमा लागूऔषध फेला परेको छ ।
धरान–१३ का २४ वर्षीय सचिन प्रधानलाई लागूऔषध फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
शंकास्पद अवस्थामा फेला पारी शरीर खानतलासी गर्दा निजले लगाएको पाइन्टको गोजीमा लुकाएको अवस्थामा एकग्राम खैरो हेरोइन फेला पारिएको प्रहरीले जनाएको छ । ‘प्रारम्भिक सोधपुछ गर्दा सो लागूऔषध जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं. ५ का २४ वर्षीय सन्दीप राईबाट खरिद गरेको उनले जानकारी दिएका थिए, त्यसपछि अनुसन्धान गर्दै गएपछि अर्का व्यक्तिपनि पक्राउ परेका छन्’, डिएसपी बस्नेतले भने, ‘ती अर्का व्यक्ति पानबारीमा फेला परेका थिए ।’
उनका अनुसार सन्दिपलाई भेटेर शरीर खानतलासी गर्दा उनमा पनि खैरो हेराइन नै फेला परेको थियो । उनलाई धरान–६ पानमारीमा फेला पारिएको प्रहरीले जनाएको छ ।
उनको पनि पाइन्टको गोजीमा लुकाइ बोकेको ७०० मिलीग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । निजहरु दुवैजनालाई पक्राउ गरी मंगलबार सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको इनरुवा नगरपालिका–२ का अजय पण्डितलाई छुरा प्रहार गरी घाइते बनाई नगद तथा मोबाइल लुटपाट गरी फरार रहेका २ जना पक्राउ परेका छन् ।
यही पौष १७ गते बिहान साढे ६ बजेको समयमा इनरुवा नगरपालिका–९ मा पण्डितलाई छुरा प्रहार गरी पण्डितसँग रहेको नगद तथा मोबायल लुटपाट गरी फरार रहेका देवानगञ्ज गाउँपालिका–५ घर भई इनरुवा–१ मा बस्दै आएका २२ वर्षीय गजेन्द्रप्रसाद ठाकुर र महदेवा गाउँपालिका–५ सप्तरी घर भई इनरुवा–१ बस्दै आएका २१ वर्षीय मुकेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १९ गते पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।