धरानः धरानमा लागूऔषधसहित समातिएका विभिन्न व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालयले ती व्यक्तिलाई सार्वजनिक गरेको हो । चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–८ का वर्ष ३७ को शुक्रराज मोक्तान, धरान–१९ का वर्ष ३० को दीपेश श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
धरान–८ मा को२०प ६४११ नं. को स्कुटरमा सवार शुक्रराज र दीपेशमाथि शंका लागि निजहरुको शरीर चेकजाँच गर्दा निजहरुमध्ये स्कुटर चालक शुक्रराजले लगाएको ज्याकेटको बायाँतर्फको गोजीमा लुकाइछिपाइ बोकेको खैरो हेरोइन ९ ग्राम फेला परेको थियो । उनलाई सोधपुछ गर्दा दुवैजनाको मिलेमतोमा सो लागू औषध ओसारपसार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी बुधबार सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान–६ पानबारीस्थित धरान केराबारी सडक खण्डमा चेकजाँचमा खटिएको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको छ ।
केराबारीतर्फबाट धरानतर्फ आउँदै गरेको को१६प ९७९२ नं. को पल्सर मोटरसाइकलमा सवार रहेका धरान–१५ अरुण टोल बस्ने वर्ष ३० को प्रेम तामाङ र धरान–८ बस्ने वर्ष २४ को जोन तामाङलाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल चालक प्रेमले लगाएको हेल्मेटभित्र लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
लुकाइछिपाइ बोकेको खैरो हेरोइन एक ग्राम फेला परी सोधपुछ गर्दा दुवैजनाको मिलेमतोमा सो लागूऔषध ओसारपसार भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पनि सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले दिउँसो पौने २ बजे मेचीनगर नगरपालिका–१० का ३२ वर्षीय मो.मुस्ताफालाई १ ग्राम ९०० मिलिग्राम लागूऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो ।