धरानः धरान-९ का वडाध्यक्ष (जनप्रतिनिधि) रत्नबहादुर कटवाललाई पक्राउ पुर्जी जारी भएको छ ।
वडाध्यक्ष कटवाललाई बुधबार पक्राउ पुर्जी जारी हो । जिल्ला अदालत सुनसरीले पक्राउ गर्न प्रहरीलाई आदेश दिएपछि वडाध्यक्ष रत्नबहादुर कटुवाललाई प्रहरीले खोजी गरेको हो । वडाध्यक्ष कटवाल भने अहिले सम्पर्कविहीन रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ‘उहाँलाई पक्राउ पुर्जी जारी भइसकेको छ’, उनले भने, ‘तर खोजी गरिएपनि भेटिएका छैनन् ।’
नागरिकता बनाउनको लागि झूठा विवरण सिफारिस गरेको आरोप उनीमाथि लागेको डिएसपी बस्नेतले जानकारी दिए । कटवालले स्याङ्जाको वालिङ–३ घर भएकी मञ्जु क्षेत्रीलाई धरान–९ को स्थानीय बासिन्दाको सिफारिस बनाइ झूटो विवरण पेश गरी नागरिकता दिलाएको प्रहरीले जनाएको छ ।
कटवालले क्षेत्रीलाई २०७५ माघ ८ गते धरानबाट नागरिकता दिलाउन झूटो विवरण पेश गराएको खुलेको छ । अर्घाखाँचीका गोपाल सेजुवाल जापानमा बस्दै आएका छन् । उनै सेजुवालसँग वडाअध्यक्ष कटवालले साँठगाँठ गरी मञ्जुको बुबा बनेर नागरिकता दिलाउन मुख्य भूमिका निर्वाह गरेको पाइएको छ । सेजुवाललाई दुईवर्षअघि धरान बोलाएर अर्घाखाँचीबाट धरान–९ को स्थानीयवासी बनाइ मञ्जुलाई सेजुवालको छोरी बनाएको पाइएको छ ।
जापान जाने चक्करमा नक्कली छोरी बनेकी मञ्जुको दोहोरो नागरिकता देखिएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मञ्जुको नागरिकता छानविन गरेको थियो । अनुसन्धानको क्रममा नागरिकता धरानबाट झिकेको खुलेपछि स्याङ्जा प्रहरीले पक्राउ परेकी महिलासहित यो मुद्दा धरान पठाइदिएको थियो । धरान प्रहरीले पनि अनुसन्धानको क्रममा ती महिलालाई झूटो विवरण पेश गरेर नागरिकता दिलाएको खुलेको डिएसपी बस्नेत बताउँछन् ।
झूटो विवरण पेश गरेर धरानबाट नागरिकता निकाल्ने महिलाको वास्तविक उमेर बढी भएपनि वडा अध्यक्ष कटुवालले २०५५ सालको जन्मदर्ता गरेर दुई वर्षअघि २० वर्ष उमेरको नागरिकता दिलाएका थिए । ३३ वषीया क्षेत्रीको धरानबाट लिएको नागरिकतामा भने २० वर्ष भन्दा कम उमेर रहेको छ । ‘सेजुवालले जापान जान २० वर्ष भन्दा कम उमेर चाहिने हुँदा नागरिकता बनाएको पाइएको छ’, डिएसपी बस्नेतले भने, ‘यो प्रारम्भिक अनुसन्धान हो ।’
जापानमा रहेका सेजुवालसँग फेसबुकमा चिनजान भएको र छोरी बनेर जापान जाने भनेर धरानबाट नागरिकता निकालेको हालसम्मको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी बस्नेतले जानकारी दिए । उनले दुईवटा नागरिकता भएकी मञ्जुको स्याङजाको वालिङ ३ बाट पिता श्याम क्षेत्रीको वंशजको आधारमा नागरिकता रहेको र धरानबाट निकालिएको नागरिकतामा भने उमेर घटाएर जापान जान भनी लिइएको खुलेको जानकारी दिए ।
यस्तै, जापानमा रहेका सेजुवाललाई पनि प्रहरीले अनुसन्धान प्रक्रियामा तानेको छ । ‘ती महिलालाई ६ दिन अघि स्याङ्जाबाटै पक्राउ गरेर धरानमा हाल अनुसन्धान भइरहेको छ’, डिएसपी बस्नेतले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
वडा सदस्य मनोज राउतले भने वडाध्यक्ष कटवालले आफूलाई कार्यवाहक दिएर काठमाडौंमा उपचारका लागि हिँडेको जानकारी दिएका छन् । ‘खासमा उहाँ काठमाडौं उपचारका लागि जान्छु भनी हिँड्नुभएको छ’, उनले भने, ‘चार दिनपछि फिर्छु भन्नुभएको छ ।’ यसबारेमा बुझ्न खोज्दा वडाध्यक्ष कटवालको मोबाइल नम्बर भने स्वीचअफ छ ।