धरानः वडाका महिलाहरुलाई सीप सिकाएर दक्ष बनाउने र आयआर्जनमा वृद्धि गराउने उद्देश्यले धरान–१२ मा तालिम शुरु भएको छ ।
विशेषतः एकल महिलाहरुलाई मोतिका माला, चुरा, पोते बनाउने, हातमा लगाउने बाला चुरा बनाउनेलगायत विभिन्न डिजाइनको महिलाहरुले लगाउने सामग्री बनाउने तालिमको सञ्चालन भएको हो । धरान उपमहानगरपालिका वडा नम्बर १२ वडा समितिले यस्तो तालिम दिएको हो ।
तालिममा जेष्ठ महिलादेखि सबै उमेर समूहका गरेर १५ जनाको सहभागिता छ । वडा सदस्य चुनु थापाले महिलालाई आत्मनिर्भर बनाउन र आय आर्जनमा वृद्धि होस् भनेर यस्तो तालिम दिइएको बताइन् । ‘खासमा दिदीबहिनी केही सीप सिकी आत्मनिर्भर बनुन् भन्ने नै हो, त्यही भएर ७ दिने तालिम राखेका हौं ।’
मानवअधिकारका लागि महिला एकल महिला नगर अध्यक्ष इन्दु श्रेष्ठले आफ्नो कार्यकालमा दिदीबहिनीहरुलाइ यस्ताखालका सीपमूलक तालिम गर्न पाएकोमा खुशी व्यक्त गर्दै वडालाई धन्यवाद दिइन् । तालिमको सहजीकरण संगीता सुब्बाले गरेकी छिन् ।