धरानः अमेरिका पढाइदिन्छु भन्दै ५३ लाख रुपैयाँ ठगी गर्ने विद्या शर्मा उर्फ ‘विद्या सरकार’लाई जिल्ला प्रहरी कार्यलय दैलेखले पक्राउ गरेको छ । उनी इटहरी–४ सुनसरीकी हुन् ।
विभिन्न व्यक्तिलाई ठगी गरेकी विद्याविरुद्ध सुनसरी जिल्ला प्रहरी कार्यालयमा पनि ठगीको मुद्दा परेको प्रहरीले जनाएको छ । दैलेख प्रहरीले अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
२४ वर्षीया विद्या शर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कायर्नलय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुप श्रेष्ठले जानकारी दिए । विद्याले आफू अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको नेपालको सिइओ भएको बताउँदै दैलेखका २ जना युवालाई ठगी गरेको आरोपमा उनलाई पक्राउ गरेको डीएसपी श्रेष्ठले बताए ।
‘उनले राहत बाँड्ने समयमा आफ्नो अमेरिका भीषा लागेको ८–१० जना युवालाई अमेरिका लानुछ भनेर ठगेको पाइएको छ,’ डीएसपी श्रेष्ठले भने,‘ उनले प्रलोभनमा पारी ठगी गरेको पाइएको छ ।’ उनले कार्तिक १४ गते नारायण नगरपालिका–१ नयाँबजार बस्ने मनोज थापाबाट ग्लोबल आइएमइमार्फत् ९० हजार र विवेक थापाबाट वैशाखदेखि असोजसम्म पटकपटक गरी ५२ लाख १४ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
त्यसपछि सम्पर्कविहीन भएकी विद्या सरकारविरुद्ध पुस ९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा विवेक थापाले उजुरी दिएपछि उनको खोजी सुरु भएको थियो । त्यसलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको थियो । परिसर काठमाडौंमा पनि विभिन्न व्यक्तिले ठाडो जाहेरी दिएपनि मुद्धा स्थापित भने नभएको परिसर काठमाडौंका प्रवक्त डीएसपी प्रमेश विष्टले बताए ।