Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘पान क्याफे’

हाम्रो कोशी आवाज
माघ ७ २०७७, बुधबार
धरानमा ‘पान क्याफे’

आजको स्तम्भ

धरानः धरानमा माविसम्म अध्यापनरत् एक शिक्षकले धरानमा ‘पान क्याफे’ खोलेर चर्चा कमाएका छन् ।
विशेषतः पान पसल गर्नेलाई सानो काम भन्ने धेरैको बुझाइ छ । बानी छ–यस्तो पनि काम गर्ने हो वा पान पसल पो खोलेको भनेर खिसिटयुरी पनि नहुने होइन । यस्तै, खिसिटयुरी गर्ने जमातकै बीच माविसम्म पढाउने शिक्षकले पान पसल होइन, पान क्याफे नै खोलेका छन् । क्याफे भन्नेवित्तिकै टि क्याफे, रेष्टुरेण्टमा फुड आइटमको क्याफे मात्रै बुझिन्छ । उनले धरान–९ पुतलीलाइन (भाटभटेनी पश्चिम) वेदिका पान क्याफे ।
पान पसल भनेपछि धेरैलाई लाग्छ, कुचुक्क परेको ठाउँ, त्यही कुचुक्क ठाउँबाट खुस्रुक्क पान माग्ने अनि क्वाप्प मुखमा हाल्ने अनि हिँड्ने । तर उनले अन्य खानेकुरा खुवाउने क्याफेकै ‘स्टाइल’ मा पान क्याफे नै खोलेका हुन् । पान किनिनसक्दासम्म केहीक्षण टुलमा बस्न पनि पाइन्छ । पान खानैपरेपनि केहीक्षण टुलमा बस्न पाइन्छ ।
पान क्याफे खोल्ने शिक्षक हुन्–धरानकै बासिन्दा आकाश भाटी । उनी यसअघि र अहिले पनि धरान–११ स्थित ज्ञानकुञ्ज स्कुल अर्थात् जिके स्कुलमा कक्षा–१० सम्म सामाजिक विषय पढाउँछन् । ‘कक्षा–१० सम्म पढाउँछु तर शिक्षकले पेशाले नपुग्ने भएपछि मैले यो व्यवसाय गरेको हुँ ।’ उनले भने, ‘अहिले पनि म पढाउँदै आएको छु ।’ उनले अहिले सो ठाउँमा भारतदेखि दुईजना पानबारे ज्ञान भएका युवालाई ल्याएर रोजगारी समेत दिएका छन् ।
लकडाउन र कोरोनाले सिकायो
कोरोना कहरपछि लकडाउन शुरु भयो । लकडाउन र कोरोना कहरले पनि धेरै कुरा सिकाएको उनले बताए । कोरोना महामारी फैलिन नदिन गरिएको लकडाउनका कारण धेरै उद्योग–व्यवसाय, शिक्षा क्षेत्र संकटमा परे । थुप्रै नागरिकले रोजगारी गुमाए । कतिपयले बन्द रहेको व्यवसाय अझै सञ्चालन गर्न सकेका छैनन् तर केहीले कोरोनालाई अवसर बनाएर नयाँ व्यवसाय थालेका छन् ।
‘आत्मनिर्भर हुन सकेको भए मलाई दुःख हुँदैन थियो तर आत्मनिर्भर थिइनँ’, उनले भने, ‘त्यही कारण मलाई अत्यन्तै दुःख आइलाग्यो । शिक्षकले भोकभोकै हिँड्नुपर्ने अवस्था पनि आयो । अन्य शिक्षकजस्तै मैले पनि धेरै दुःख पाएँ, त्यसपछि मैले धेरै कुरा सिकें, आत्मनिर्भर हुनपर्नेदेखि अन्य कुरा सिकेपछि यो क्याफे सञ्चालनमा ल्याउने विचार गरें ।’
नेपालभर धेरै निजी विद्यालयका शिक्षकले तलब पाएनन् । देशभर आन्दोलन चर्किने भयो । उनी शिक्षकका समस्या लिएर धरानमा मात्रै होइन, इटहरी र प्रदेश सरकारसमक्ष पनि पुगे । धरान, इटहरी र विराटनगरमा नाराजुलुस, धर्नामा पनि बसे । उनी संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) सुनसरीका कोषाध्यक्ष पनि हुन् ।
व्यवसाय परिवर्तन गरेका उनले अहिले आत्मनिर्भर हुने कोसिस गरिरहेका छन् । ‘खासमा लकडाउनले नै सबै कुरा सिकाएको हो, अब आत्मनिर्भर हुने कोसिस गरिरहेको छु,’ उनले भने, ‘नयाँ ‘कन्सेप्ट’ मा व्यवसाय थालेको छु, अब जम्छु भन्ने आशा छ ।’
सानो काम भनेपछि ‘खिसिटयुरी’ कै कारण नेपालीले गर्दैनन्
शुरुमा उनले पान क्याफे खोल्ने भनेपछि धेरैले खिल्ली पनि उडाए । धेरैले भनेपनि र आश्चर्य पनि माने–क्वाप्प खाने, प्याच्च थुक्ने चिजको पनि क्याफे । तर उनले राम्ररी डेकोरेशन गरेर क्याफे सञ्चालनमा ल्याए । क्याफेको टुलमा बसेर पान चपाउन पाइन्छ, ऐनामा हेर्दै पानी खान सकिन्छ । उनी भन्छन्, ‘त्यसपछि धेरैले आश्चार्य मानेनन् र भने हो रहेछ तपाईको व्यवसाय गर्ने आइडिया ।’
उनले दुःख मानेर थपे, ‘हामी नेपालीको बानी के छ भने, सानो काम गर्न मान्दैनौं, काम गरेको देखेपनि खिसिटयुरी, हेपाहा प्रवृत्ति गर्दछौं, यसैकारण पनि नेपालीले काम गर्दैनन् ।’
विदेशमा दुःख गर्नुभन्दा यस्तै व्यवसाय ठीक
उनले कुनै पनि काम गर्दा नलगाइ गरेमा नेपाल समृद्धिको दिशातिर अघि बढ्ने बताए । उनकै साथीहरु पनि कतिपय विदेश हान्निएका छन् । विदेशमा रगत पसिना बगाउनुभन्दा यहीँ देशमा केही नयाँपन दिनसके जीविकोपार्जन साथै कमाइ पनि हुने उनले बताए । सानो लगानीबाट पनि ठूलो फाइदा लिन सकिने उनको भनाइ छ । ‘म जस्ता युवाहरुले विदेश नगएकै ठीक, सानो लगानीबाट पनि आम्दानी गरेर यही बाँच्न सकिन्छ’, उनले भने, ‘काम गरेर खान के को लाज ?’
उनले हाइजेनिक पान (बच्चादेखि वृद्धसम्मका लागि) खुवाउने लक्ष्य रहेको बताए । पानको पनि परिकार हुन्छ भनेर उनले यस्तो व्यवसाय शुरु गरेको बताए । उनले विशेषतः यहाँ स्टेबरी फ्लेबर, बैंकक फ्लेबर्स, कुल्फी फ्लेबर्स साथै अर्गानिक पान रहेको बताए । उनले चकलेट पान, गुन्दी पान, खोवा पान, रवरी पानलगायत ३० वटा भन्दा बढी आइटमको पान बेच्ने बताए । ‘यहाँ सुर्तीजन्य पदार्थबाट बनेको पान छँदैछैन भन्दा पनि हुन्छ’, उनले भने ।
उनले विवाह, पार्टी र होम डेलिभरीको व्यवस्था गरिएको पनि बताए । उनका अनुसार ६० देखि १२० रुपैयाँसम्मको पान चाख्न पाइने जानकारी दिए । अहिले आगोसहितको पान (फायर पान) चलेको उनले बताए ।
पानको स्वाद चाखेका धरानका शिक्षक विजय अछामीले पानले स्वास्थ्यका लागि पनि फाइदा पुग्ने बताए । ‘पानको पातमा औषधीय गुण हुन्छ’, उनले भने ।
उनको बुझाइमा.पानले पाचनप्रक्रियामा सुधार, स्वस्थ छाला, गिँजाको दुखाइ कम अर्थात पानमा पाइने एण्टिब्याक्टेरियल गुणले दाँतमा लागेको किरा नष्ट गर्छ, कब्जियतबाट राहत, घाँटीमा कफ जमेको निको बनाउँछ, खोकीबाट राहत, पानको पातमा पाइने एण्टि–डायबेटिक विशेषताका कारण रगतमा सुगरको मात्रा नियन्त्रण गर्न काम गर्छ । तस्वीरहरुः हाम्रो कोशी आवाज

सञ्चालक भाटी ।

 

प्रकाशित मिति: माघ ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend