Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जसले गाउँभरी बाँडे ५६ लाखको चुल्हो

हाम्रो कोशी आवाज
माघ १२ २०७७, सोमबार
जसले गाउँभरी बाँडे ५६ लाखको चुल्हो

धरानः संखुवासभा जिल्लाको उत्तरी क्षेत्र भोटखोलामा कर्मा-ज्यामु भोटिया फाउन्डेसनले ५६ लाख बराबरको धुवाँरहित चुल्हो वितरण गरेको छ ।
संखुवासभा जिल्ला शिङ्सा क्षेत्र घर भई हाल अमेरिकामा बस्दै आएका कर्मातेन्जिङ भोटिया र ज्यामु भोटिया दम्पत्तिको नाममा स्थापना गरिएको फाउन्डेसनले १ सय ५० थान धुवाँरहित चुल्हो वितरण गरिएको अरुणोदय माविका प्रधानाध्यापक छिरिङ तेम्बा लामाले जानकारी दिए । फाउन्डेसनबाट आएका फाउन्डेसनका उपाध्यक्ष छिरिङ पासाङ भोटेको अगुवाईमा शिङ्सा क्षेत्र भोटखोलाको तीन वटा गाउँमा सो चुल्हो वितरण गरिएको जनाएको छ ।
भोटखोला गाउँपालिकाको वडा नम्बर दुईको लिङम, गुम्बा र च्याम्ताङ (दम्दाङ) गाउँका १५० घर परिवारको लागि चुल्हो वितरण गरिएको हो । धुँवारहित सो चुल्हो ढुवानीसहित त्यस क्षेत्रमा पुग्दा प्रति चुल्हो ३६ हजार रुपैयाँ पर्ने प्रधानाध्यापक छिरिङ तेम्बा लामाले बताउँछन् । १५० वटा चुल्होको कुल मूल्य करिब ५४ लाख पर्न जाने बताए ।
शिङ्सा क्षेत्र भोटखोला संखुवासभा जिल्लाको विकट दुर्गम क्षेत्रमा पर्दछ । त्यहाँ दाउराबाट नै इन्धनको रुपमा प्रयोग हुँदै आएको छ तर सिधै दाउरा बाल्दा स्वास्थ्यमा असर पर्ने भएकोले यो चुल्हो स्वास्थ्यको लागि उपयोगी मानिएको छ ।
पछिल्लो समयमा भने यस क्षेत्रमा कोशी राजमार्गअन्तर्गत किमाथाङ्का–खाँदबारी सडक खण्डको ट्रयाक खोलिएको छ । हाल सो ट्रयाक भोटखोला–२ च्याम्ताङमा शंखभीरमा पुगेर रोकिएको छ । किमाथाङ्का नाका जोड्न करिब १४ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । जसले गर्दा ढुवानीमा धेरै सहज भएको छ ।
सामाजिक सेवामा रहेका कर्मा–ज्यामु दम्पत्तिले च्याम्ताङ (दम्दाङ) गाउँको लागि अरुणोदय आधारभूत भवन निर्माण गरिदिएका छन् । त्यसैगरी अरुणोदय लिङम माविमा कर्मा– ज्यामु पुस्तकालय स्थापना गरिएको छ । दम्पत्तिले स्थानीय हाइड्रोपावर, शिक्षालगायत विभिन्न विकास निर्माणका लागि आर्थिक, भौतिक सहयोग गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: माघ १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend