Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा खानेपानी अभाव हुन थाल्यो

हाम्रो कोशी आवाज
माघ २५ २०७७, आइतबार
धरानमा खानेपानी अभाव हुन थाल्यो

धरानः एक अर्ब ७७ करोडको खानेपानी आयोजना सम्पन्न भइसक्दा पनि धरानमा खानेपानीको अभाव कायमै छ ।
आजभोलि धरानका धारामा पानी आउन छोडेको धरान–१२ की गृहिणी मञ्जु शाक्यले बताइन् । ‘नेताले भनेजस्तो काम नगरिदिँदा अहिले पनि धरानमा खानेपानी आउन सकेको छैन’, उनले भनिन्, ‘दुईदिन भइसक्यो पानी आउने अत्तोपत्तो छैन ।’
धरान–१६ मा दिन बिराएर पानी आउने भनेपनि तीनदिनमा पनि पानी नआएको गृहिणी सञ्चमाया दाहालले बताइन् । जनप्रतिनिधि आएको यतिका वर्ष बित्न लाग्दा समेत खानेपानी नआउनु दुःखद् भएको उनले बताइन् । ‘पानी आउला भनी पर्खी बसें, थोपो पानी चुँदैन’, उनले भनिन्, ‘बिहानभरी धारा रूँगेर बस्यो नआएपछि फेरि बेलुका पनि यसरी नै बस्यो । समय नै यसरी बितिरहेको छ ।’ धरानका १२, १६, ११, १५, ९, १०, १३, १५, १८ लगायतका वडाहरुमा पानी नआएको गुनासो आउन थालेको छ ।
धरानमा वर्षेनी खानेपानीको अभाव भएका कारण धरान उपमहानगरले एशियाली विकास बैंक (एडिबी) को एक अर्ब ७७ करोड ऋण अनुदानमा सन् २०१५ मा खानेपानी आयोजनाको काम शुरु गरेको थियो । २०१७ डिसेम्बर सम्ममा आयोजनाको काम सम्पन्न हुने भनिएको थियो तर धरानमा खानेपानीको चरम अभाव कायमै छ ।
दैनिक ४ करोड लिटर खानीपानीको माग भए पनि संस्थानले हाल दैनिक एक करोड २० लाख लिटर मात्र पानी वितरण गर्दै आएको छ । सुख्खा मौसमका कारण पानी उत्पादन कम भएर दिन बिराएर खानेपानी वितरण गर्नुपरेको खानेपानी संस्थानले जनाएको छ ।
धरानमा हिउँदको याममा मात्रै होइन वर्षातको समयमा पनि पानी अभाव हुने गरेको स्थानीयबासीले बताएका छन् ।

प्रकाशित मिति: माघ २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend