फुङलिङः ताप्लेजुङको सिरिजङघा गाउँपालिका ४ नम्बर वडामा मंगलबार दिउँसो भीरबाट आएको डढेलोले फुन्द्रुवा आधारभूत विद्यालयको भवन जलेर नष्ट भएको छ ।
भीरबाट आएको डढेलोले कार्यालय सञ्चालनमा रहेको तीन कोठे भवन जलेको सिरिजङ्घा गाउँपालिकाका ४ का वडा अध्यक्ष रुपदास भट्टराईले जानकारी दिए । सोलरको ब्याट्री पड्केर एकजना स्थानीय घाइते समेत भएका छन् । उनको तेल्लोक प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ ।
विद्यार्थी भने सुरक्षित स्थानमा भाग्न सफल भएको र झोला, किताब, शैक्षिक सामग्री र कार्यालयमा १५ वटा कम्प्युटर साथै कार्यालयको कागजपत्र निकाल्न नसकेर सबै जलेर नष्ट भएको वडा अध्यक्ष भट्टराईले जानकारी दिए । ‘सुरुमा पराल जम्मा गरेर राखेका ठाउँमा आगलागी भएको थियो । र नजिकैको खरको रहेको भीरमा डढेलो लाग्दै विद्यालयको भवनसम्म पुग्यो ।’, उनले भने, ‘१९ लाख रुपैयाँमा निर्माण भएको विद्यालयको भवन भने जलेर नष्ट भएको छ ।’