धरानः धरान-१६ अन्नपूर्णचोकपूर्व सञ्चालित मन्टेश्वरी किन्डर गार्टेन आफ्नै भव्य भवनबाट पठनपाठन सञ्चालन हुने भएको छ ।
दुई कट्ठा जमीनमा मन्टेश्वरी अवधारणामै धरान–१६ कै जोरसखुवाअगाडि भवन बनेपछि आफ्नै विद्यालय भवनबाट पठनपाठन सुचारु गर्न लागिएको प्रिन्सिपल सुलेखा जोशीले जानकारी दिइन् ।
भूकम्पप्रतिरोधी भवनमा अहिले रंगरोगनको धमाधम भइरहेको छ । कोठा सजाउन, रंगरोगन गर्न बाँकी रहेको छ । ‘भवन निर्माण भइसक्यो, कोठाहरु रंगरोगन र व्यवस्थित गर्न बाँकी छ, भाडाको भवनमा रहेका सबै सामग्री सारिसक्ने चरणमा छौं,’ उनले भनिन्, ‘फागुन ४ गतेदेखि यही भवनमा पठनपाठन सुचारु गर्नेछौं ।’
सरस्वती पूजाको दिनदेखि आफ्नै भवनबाट पठनपाठन थाल्ने गरेर धमाधम काम भइरहेको सञ्चालक गौरवमान श्रेष्ठले जानकारी दिए । ‘एक वर्षअघि नै यहाँबाट पठनपाठन सुचारु गर्ने हिसाबले लागेका थियौं तर कोरोनाका कारणले भवन निर्माण हुन सकेन’, उनले भने, ‘अब यही भवनबाट पठनपाठन गर्नुपर्छ भनेर अन्तिम तयारीमा जुटेका छौं ।’
भवनसँगै बास्केटबल, फुटसल कोर्टलगायत अन्य खेल मैदान सिंगार्न अहिले पनि बाँकी छ । प्ले ग्रुपदेखि कक्षा–३ सम्म सञ्चालन गर्ने अनुमति पाएको स्कुलले मन्टेश्वरी विधिमै पठनपाठन गर्दै आएको प्रिन्सिपल जोशीले बताइन् ।
विद्यालयले दुईदेखि ६ वर्ष उमेर समूहका बालबालिकालाई अक्षर चिनाउन तथा पढाउन हतार नगरी स्वस्थ रहने, पालो कुर्ने, आफ्नो काम आफैं गर्ने, सोधेको कुरामा उचित जवाफ दिने, सकारात्मक सोच्ने, अरुलाई आदर गर्ने, माफ गर्न सक्ने, शिष्ट बोल्ने, आफूले प्रयोग गरेका सामग्री ठीक ठाउँमा राख्ने, अरूका सामान प्रयोग गर्नुअघि सोधेर अनुमति लिने, समस्या पर्दा नआत्तिने, अनावश्यक कुरामा नडराउने, आफ्नो काम आफै गर्ने, इमान्दार रहने, अरूलाई पनि असल व्यवहार गर्न उत्प्रेरित गर्ने, सन्तुलित आहार मन पराउने, अनुशासित हुनेजस्ता सीपमूलक शिक्षा दिँदै आएको उनले बताइन् ।
‘यहाँ बालबालिकाको व्यक्तिगत आवश्यकतालाई मध्यनजर गरेर सोही किसिमको वातावरण तयार गरिन्छ । विद्यार्थी केन्द्रित सिकाइलाई अवलम्बन गरिन्छ । विद्यार्थीको रुचि केमा छ त्यही अनुसार शिक्षकले वातावरण तयार गर्छ । यसका साथै हाम्रो फोकस भनेको विद्यार्थीलाई संस्कारयुक्त बनाउँदै आएका छौं ।’ उनले भनिन् ।
सञ्चालक श्रेष्ठले ८ मन्टेश्वरी कक्षाकोठामा बालबालिकाले आफ्नो रुचिअनुसारको विषयमा कक्षाकोठामै भएका सामाग्रीहरु खेलेर, चलाएर, छोएर जानकारी प्राप्त गर्ने अनि सिक्ने गरेको बताए । तस्वीरहरुः हाम्रो कोशी आवाज











