धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले बिएचएममा प्रदेश १ प्रथम बन्न सफल विद्यार्थीलाई सम्मान गरेको छ ।
कलेजमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा अभिभावकलाई समेत खादा र अविरले सम्मान गरिएको थियो । प्रदेश १ मा प्रथम र तृतीय हुने तीनजनालाई छात्रालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा बिएचएम प्रथम सेमेष्टरकी छात्रा रितु राई, दोस्रो सेमेष्टरकी छात्रा स्टेला मेन्याङ्बो र दोस्रो सेमेष्टरकी छात्रा दिला नेम्वाङ छन् । रितु र स्टेलाले प्रदेश प्रथम र दिलाले प्रदेश तृतीय बन्न सफल बनेका थिए । रितुले २०१९ मा ३.६९ जिपिए, स्टेलाले २०२० मा ३.६९ जिपिए र दिलाले २०२० मै ३.६२ जिपिए ल्याउन सफल बनेकी थिइन् । । यो नतिजा प्रदेश १ मै प्रथम हो ।
उनीहरुमध्ये प्रथम हुनेलाई नगद २५ हजार रुपैयाँ र तृतीय हुनेलाई १० हजार रुपैयाँ, खादा, अविर र सम्मानपत्रले सम्मान गरिएको थियो । उनीहरुलाई अभिभावकको उपस्थितिमा कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापो, अध्यक्ष ज्ञानेश्वर झा, अध्यापक राजेश विद्रोहीलगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तुम्बापोले यसअघि पनि कलेजका विद्यार्थी होटल म्यानेजमेण्ट, म्यानेजमेण्टमा प्रदेश १ को प्रथम साथै टियुअन्तर्गत देशभरबाट सेकेण्ड टपर समेत बन्न सफल भइसकेको बताए । ‘यसअघि पनि होटल म्यानेजमेण्ट, म्यानेजमेण्ट, बिबिएसमा पनि हामीले सफलता हासिल गर्दै आएका थियौं, देशभरबाट सेकेण्ड टपर साथै प्रदेश १ प्रथम समेत बन्दै हाम्रो सफलताको यात्रा अगाडि बढिरहेको छ’, उनले भने, ‘अहिले हामी गौरवान्वित भएका छौं, बिएचएममा पनि प्रदेश १ प्रथम बन्न सफल बनेका छौं’, उनले भने ।
कार्यक्रममा बोल्दै उनले सेमेस्टर वाइज प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई प्रोत्साहनका लागि निरन्तर सम्मान गरिरहने घोषणा गरे ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले कलेज परिवार, अभिभावक, विद्यार्थीकै मिहिनेतका कारण कलेज यहाँसम्म आइपुगेको र कलेजका विद्यार्थीले पनि निरन्तर सफलता हासिल गर्दै गएको बताए । कार्यक्रममा बोल्दै सम्मानित विद्यार्थीले मिहिनेत गरिरहने सफलता हात पार्ने सन्देश दिएका थिए ।
कार्यक्रमको सञ्चालन होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठले गरेका थिए । इटहरी र विराटनगरमा पनि बिएचएम पढाइ हुने गरेको छ । चार वर्षे बिएचएम सङ्काय ८ सेमेण्टरको कोर्ष हुन्छ । तस्वीरहरुः हाम्रो कोशी आवाज















