धरानः इलाका प्रहरी कार्यालय धरानले प्रतिबन्धित औषधिसहित एक दम्पत्तिलाई पक्राउ गरेको छ ।
धरान–१०, धर्मपथ लाइनस्थित सडकखण्डबाट मुन्ना खान र उनकी श्रीमती आसमा खातुनलाई प्रतिबन्धित औषधी स्पास्मोप्रोक्सिभन प्लससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
‘मोटरसाइकलमा सवार दुवैलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुले बोकेको झोलाबाट प्रतिबन्धित औषधी फेला परेको थियो’, डिएसपी बस्नेतले भने, ‘औषधिसहित उनीहरुलाई पक्राउ गरिएको हो ।’
दम्पत्ति सवार गरेको प्रदेश १–०–२–०४४ प ६३८० नं. को एफजेड मोटरसाइकल रोकी चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा झोलामा प्रतिबन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगर पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट स्पास्मोप्रोक्सिभन प्लस ५ सय ८६ क्याप्सुल बरामद भएको छ । दुवैजना धरान–९ निवासी रहेको प्रहरीले जनाएको छ ।