Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आत्मनिर्भर बन्न तम्सिँदै धराने महिला र युवती

हाम्रो कोशी आवाज
चैत्र ६ २०७७, शुक्रबार
आत्मनिर्भर बन्न तम्सिँदै धराने महिला र युवती

धरानः कोही धागो कात्दै थिए, कोही धमाधम चुरा बनाउँदै थिए, कोही ब्याग बनाउने सीपबारे ज्ञान लिन खोज्दै थिए । धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको माथिल्लो तलामा अहिले धराने महिला र युवती साथै सुनसरीभरीका महिला सीप सिक्न व्यस्त थिए ।
विशेषतः धरान र सुनसरी जिल्लाभरिका महिलालाई आत्मनिर्भर बनाउने ध्येयका साथ महिला नै लागिपरेकी थिइन् । उनी हुन्–धरानकी यशोदा कायस्थ । संस्था वैधानिकरुपमा दर्ता छ र उनी अध्यक्ष रहेको संस्था नेपाल उद्यमशील महिला संघ, सुनसरी शाखाले यस्तो सीप सिकाएको हो ।
सीप सिक्न तल्लिन अधिकांश महिलाले आर्थिक स्थिति सुधार्नको लागि यस्तो सीप सहयोगी हुने भन्दै प्रशंसासमेत गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) ले महिलाको सीप जीवनभर बिक्ने हुनाले यस्तो कार्यक्रम फलदायी भएको बताइन् । उनले सरकारले हरेक पालिकामा औद्योगिक ग्राम बनाउने निर्णय लिइसकेको र धरानमा पनि यसकाो प्रक्रियामा रहेकोले यसले महिला उद्यमीलाई फाइदा गर्ने बताइन् । उनले उपमहानगरपालिकामा आएका अतिथिहरुलाई मायाको चिनोको रुपमा ब्याग र अन्य कुरा पठाउन सकेपनि महिलाकै आर्थिक पाटो सुध्रिने धारणा राखिन् । उनले उपमहानगरपालिका धरानमा महिला आत्मनिर्भर बनाउने खालको रणनीतिमा अघि बढेको बताइन् ।
कार्यक्रममा बोल्दै सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष शिवराज श्रेष्ठले चुरा बनाउने सीप वा अन्य सीपले महिला आत्मनिर्भर बन्न सफल बन्ने बताए ।
अध्यक्ष कायस्थले धरानमा १५ जना युवती, महिला चुरा बनाउने सीप सिक्न तल्लिन रहेको र सीप पनि सिकेको बताइन् । यस्तै, थाकल ब्याग बनाउने सीप सिक्न सुनसरीभरीका १५ जना महिलाले सहभागिता जनाएको बताइन् । उनले धरान उपमहानगरपालिकाबाट एक लाख रुपैयाँ बजेट छुट्याइदिएको बताइन् ।
तालिम लिइसकेपछि आफ्नै घरमा बसेर पनि महिलाको लागि आर्थिक उपार्जन हुने उनले बताइन् । ‘खासमा तालिममा सिकेका सीपलाई घरमै बसेर पनि प्रयोग गर्ने हो भने अहिले ३० जना महिला आत्मनिर्भर बन्न सक्छन्’, उनले भनिन्, ‘यसका लागि महिलाको मिहिनेतचाहिँ चाहिन्छ ।’
स्थानीय बेरोजगार, अर्धबेरोजगार युवती एवम् घरमै बस्ने गृहिणीहरूलाई यस प्रकारका क्रियाकलापमा संलग्न गराउन उत्प्रेरित गर्ने र शहरी गरिबी न्यूनीकरण गर्न मद्दत पुरयाउने लक्ष्य आफ्नो रहेको उनले बताइन् । धरानमा महिलाका लागि चाहिने चुरा र ब्याग व्यवसायिकरुपमा उत्पादन हुन सकेको छैन । ‘मेरो जोड पनि यस्तैमा हो, त्यही भएर संस्था दर्ता गरेर खाइनखाइ लागिपरेको छु’, अध्यक्ष कायस्थले भनिन्, ‘धरानमा महिला आत्मनिर्भर हुन सकुन् भन्ने मेरो चाहना हो ।’
सीप सिकाउँदै आएकी वुटवलकी प्रशिक्षक सरिता थापाले सीप सिकेपछि महिलाको जीवनमा परिवर्तन आएको र आत्मनिर्भर बन्दै अगाडि बढेको बताइन् ।
तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: चैत्र ६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend