Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयरको अर्को पुरस्कार घोषणा

हाम्रो कोशी आवाज
चैत्र ७ २०७७, शनिबार
धरानका मेयरको अर्को पुरस्कार घोषणा

धरानः धरान उपमहानगरका मेयर तिलक राईले विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध रही अवकाश प्राप्त गरेका चन्द्रप्रसाद श्रेष्ठको नाममा पुरस्कार कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
शुक्रबार नेपाल शिक्षक संघ धरानको तेस्रो नगर प्रतिनिधिसभाका प्रमुख अतिथि समेत रहेका मेयर राईले श्रेष्ठको सम्मानमा एक लाख रुपैयाँको पुरस्कार कोष खडा गरिदिने घोषणा गरेका हुन् ।
मेयर राईले चन्द्र सरलाई सम्मान गर्नु पाउँदा अत्यन्तै गर्व लागेको बताए । ‘शिक्षक संघमा जति सम्मान्नीय व्यक्तित्व हुनुहुन्छ चन्द्र दाइ, हाम्रो पार्टीमा र पत्रकारिता क्षेत्रमा त्यति नै सम्मानित व्यक्तित्व हुनुहुन्छ गिरिराज आचार्य दाई,’ उनले भने ।
मेयर राईले गिरिराज आचार्यको सम्मानमा केही समय अगाडी मात्र १ लाख ५० हजार रुपैयाँको पत्रकारिता पुरस्कार कोष स्थापना गरेको सुनाए । ‘त्यो कोष जुन नगर प्रमुखको तलब भत्ता आउँछ, त्यो पैसा मैले पार्टीको कोषमा जम्मा गर्छु, मैले तलब–भत्ता लिन्नँ, पैसा पार्टीको कोषमा जान्छ,’ नगर प्रमुख राईले भन्नुभयो, ‘शिक्षक संघले राखोस् पुरस्कार, १ लाख रुपैयाँ म त्यो कोषबाट लगाइदिन्छु, चन्द्र दाईको नाममा पुरस्कार कोष खोल्नुस्, हरेक वर्ष एक जना होनाहार शिक्षकलाई पुरस्कृत गर्नुस्, चन्द्र दाईको इतिहास रहन्छ, अमर पनि हुन्छ ।’
मेयर राईले शिक्षक संघमा एकता हुन जरुरी रहेको बताउँदै अबको शिक्षक संघ आत्मविश्वासका साथ अघि बढ्नुपर्नेमा जोड दिए । नगर शिक्षा योजना बनाउने सन्दर्भमा, नगरको शैक्षिक कार्यक्रम गर्ने सन्दर्भमा, नगरको गतिविधिहरुको सम्बन्धमा निरन्तर छलफल गर्न जरुरी रहेको उनको भनाई थियो । मेयर राईका अनुसार स्थानीय सरकार र शिक्षकहरु बीच दिनहुँ छलफल गर्न आवश्यक छ । अहिले सामुदायिक विद्यालयप्रति अभिभावकर विद्यार्थीको आकर्षण बढ्दै गएको उनको भनाई थियो । मेयर राईले शिक्षा जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा वक्ताहरुले संघीय शिक्षा ऐन कार्यान्वयन गरी बाल शिक्षक कर्मचारी, राहत अनुदान, उच्च मावि शिक्षक, करारमा कार्यरत शिक्षकहरुको समस्या राज्यले हल गर्नुपर्ने धारण व्यक्त गरेका थिए । नेपाल शिक्षक संघ धरानका अध्यक्ष आश बहादुर राईले शिक्षा जस्तो विषयलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।

को हुन् चन्द्रप्रसाद श्रेष्ठ ?
हाल ८४ वर्ष पुगेका चन्द्रप्रसाद श्रेष्ठ वि. सं. १९९३ जेष्ठ १ गते धरानमा पिता गणेशप्रसाद श्रेष्ठ र माता नित्य कुमारी श्रेष्ठको कोखबाट जन्मिएका हुन् । हाल उनी धरान १२ निवासी हुन् । उनले त्रि.वि. बाट स्नातक गरेका थिए ।
२००५ सालमा धरानका वरिष्ठ विद्धान समाजसेवी प्रतिष्ठित व्यक्तिहरुबाट पूर्वाञ्चलकै पहिलो सार्वजनिक पुस्तकालय स्थापना भएको र सो पुस्तकालय सञ्चालन समितिको २०१४ सालमा निर्वाचित सचिव भई २०१८ मा धरान उपमहानगरपालिकालाई हस्तान्तरण जो अध्यावधि सञ्चालनमा छ ।
२०१४ सालमा नै नेपाली कांग्रेसमा प्रवेश भई २०१४ को नेपाली कांग्रेसद्वारा सत्याग्रह आन्दोलनमा सक्रिय धरानमा नेपाली कांग्रेस असंगठानिक संस्थालाई विधिवत संगठन गरी सो पार्टीको सचिव भई २०१५ सालको प्रथम आम निर्वाचनमा विजयी गराउन सफल भए । २०२८-२९ मा नेपाल रेडक्रस सोसाइटी सुनसरीको संस्थापक सदस्य एंव कार्य समिति सदस्य रहेकाा थिए । नेपाल सोसाइटीमा अक्षय कोष रु एक लाख सहयोग प्रदान एवं विशिष्ठ सम्मानित सदस्य पुरस्कार प्रदान गरेका थिए । २०३५-३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्टूव्यापी शिक्षक आन्दोलनमा सुनसरीबाट अग्रगामी भूमिका निर्वाह गरी आन्दोलनलाई सफलता हासिल गरेका थिए ।
यस्तै श्री सिद्धी नेवा परिषदमा रु ५ लाखको अक्षयकोष स्थापना, श्री सरस्वती बालआश्रम, धरानमा रु एक लाख पच्चीस हजारको अक्षयकोष स्थापना, श्री पब्लिक मा. वि. मा तुलादान, श्री शारदा बालिका विध्या धरानमा अक्षयकोष, श्री शदन मा. वि. मा आर्थिक सहयोग, श्री वाचन शिरमणि पं, नारायण प्र. प्रतिष्ठान काठमाडौं ४ मा धाम निर्माणमा आर्थिक सहयोग सुनसरी मोरङ र धनकुटाका मठमन्दिरहरुमा आर्थिक सहयोग समेत गरेका थिए ।
यस्तै, बीपी चिन्तन प्रतिष्ठान धरानबाट सम्मानित, सम्यक शिक्षा समूह, नेवार एकता समाजबाट सम्मानित, बाल आश्रम र सिद्धी नेवा परिषदबाट सम्मानित भएका थिए । हाल जेष्ठ नागरिक मिलन केन्द्रमा आवद्ध तथा विभिन्न सामाजिक, धार्मिक, संघ संस्थाहरुमा आवद्ध छन् । उनले २०२४ देखि शारदा बालिकाबाट शिक्षण पेशामा आवद्ध रहि २०५५ मा उमेर हदका कारण निवृत्त भएका थिए ।

प्रकाशित मिति: चैत्र ७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend