धरानः वुटवलकी सरिता थापा मगर धरानमा सम्मान पाउँदा धेरै हर्षित थिइन् । उनलाई नेपाल उद्यमशील महिला संघ, सुनसरी शाखाले धरानमा सम्मान गरेको हो ।
धरानलगायत पूर्वका इलाम, धनकुटालगायत अन्य ठाउँमा समेत उनले महिलालाई सीप सिकाइसकेकी छिन् । उनले वुटवलमै पनि ४२ जना महिलालाई रोजगारी प्रदान गर्दै आएकी छिन् । उनको प्रिसियस नेपाली ढाका उद्योगबाट उनले रोजगारी दिलाउँदै आएको बताइन् ।
सीप सिकेपछि महिलाको जीवनमा परिवर्तन आएको र आत्मनिर्भर बन्दै गएको बताउने उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सयौं, असहाय, बेरोजगार महिलाको गुरुआमा बन्दै आएको भन्दै सम्मान गरिएको उद्यमशील महिला संघकी अध्यक्ष यशोदा कायस्थले बताइन् । उनले आफूमा भएको सीप आफूमा मात्र सीमित नराखी अन्य महिलालाई सिकाउँदै आत्मनिर्भर र समृद्धिको बाटोमा डोहोरयाउँदै आएकी छिन् । ‘महिलाको समृद्धिमा दाता बन्नुभएकैले नै उहाँलाई सम्मान गरिएको हो’, उद्यमशील महिला संघकी धरान नगर अध्यक्ष सुलेखा जोशीले भनिन्, ‘यसले उहाँको सम्मान त भयो नै उहाँलाई धरानलगायत देशभरी चिनिन पनि सहज भयो ।’
उनलाई धरान उपमहानगरपालिकाकी मेयर मञ्जु भण्डारी (सुवेदी), अध्यक्ष कायस्थ, अध्यक्ष जोशीलगायतले खादा, सम्मानपत्रले सम्मान गरेका थिए । उनले धरानलगायत सुनसरीका अधिकांश ठाउँका महिलालाई चुरा बनाउने तालिम दिएकी थिइन् । १५ दिनसम्म धरानमा बसेर उनले तालिम दिएकी हुन् ।
अध्यक्ष कायस्थले महिलालाई आत्मनिर्भर बनाउन चुरा बनाउने तालिम र थाकल ब्याग बनाउने सीप सिकाएको बताइन् । थाकलको ब्याग बनाउने तालिम आजदेखि १५ दिनसम्म सञ्चालन हुनेछ । यसका लागि धरान उपमहानगरपालिकाबाट एक लाख रुपैयाँ बजेट छुट्याएको छ ।
स्थानीय बेरोजगार, अर्धबेरोजगार युवती एवम् घरमै बस्ने गृहिणीहरूलाई यस प्रकारका क्रियाकलापमा संलग्न गराउन उत्प्रेरित गर्ने र शहरी गरिबी न्यूनीकरण गर्न मद्दत पुरयाउने लक्ष्य आफ्नो रहेको उनले बताइन् ।

जसले पाइन् एक लाख
केही हप्ताअघि सुनसरीकी समिता घिमिरे (बस्नेत) ले एक लाख रुपैयाँको पुरस्कार पाएकी छिन् । रामधुनी–५ सुनसरीकी उनले रामधुनी–१ मा कुष्मा पाण्डा हाउस एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएकी छिन् । उनी उद्यमी बनेपछि उनलाई नेपाली सेनाले नगद एक लाखको पुरस्कार दिएको हो । भूपु सैनिकका परिवारमध्येकी उनले प्रदेश १ बाट पुरस्कृत भएकी हुन् ।
तस्वीरः हाम्रो कोशी आवाज





















