धरानः धरानकी तेस्रोलिंगी निशा परिवारका तीन दाजुभाइमध्ये कान्छा छोरा हुन् । उनको जन्म पुरुषका रूपमा भए पनि सानैदेखि हाउभाउ छोरीको । उनले धरानै निजी विद्यालयबाट कक्षा १० सम्म मात्रै अध्ययन गर्ने अवसर पाइन् ।
पुरुषप्रतिको आकर्षणका कारण आफैंमा द्विविधामा रहेकी निशा ब्लु डायमन्ड सोसाइटीको सम्पर्कमा आएपछि मात्रै तेस्रोलिंगी भएको थाहा पाइन् । परिवारमा तेस्रोलिंगी भएको बताएपछि अनेक ताडना भोग्नुपरेको उनको अनुभव छ । ‘परिवारबाट कुटपिट गर्ने, घरमा थुन्ने गर्नुहुन्थ्यो,’ उनले गुनासो पोखिन्, ‘छ महिनासम्म कडाइ गरेका कारण मानसिक तनाव झेल्नुपरयो ।’
बुवा पेशाले इन्जिनियर भए पनि तेस्रोलिंगीबारे बुझ्न नसकेको उनी गुनासो गर्छिन् । ‘दाजुहरू बेलायतमा सेटल हुनुहुन्छ । म पनि कुनै पेशामा सेटल होस् भन्ने उहाँहरूको चाहना । तर, मेरो पहिचान छुट्टै छ,’ उनी भन्छिन् । परिवारबाट तिरस्कृत भएपछि उनी घरबाट भागेर साथीहरूसँग बस्न थालिन् । घरबाट बाहिरिएपछि परिवारले घर आउन बन्द गरिदिएको छ ।
‘जागिरको खोजीमा अनेक अन्डर खाएँ । कोटा भएपनि काम नपाइने । वेटरमा, डान्सबारमा कतै काम पाइनँ । त्यसैले यौन पेशा रोज्न बाध्य भएँ,’ उनले भनिन् । उनी दुई दशकदेखि यौन व्यवसायमा संलग्न छिन् । निशालाई राज्यबाट समेत खासै सहयोगको आशा छैन । उनी भन्छिन्, ‘परिवारले त हामीलाई हेप्छ भने सरकारको के आश गर्नु । भोको पेट पाल्न यो पेशा राजेकी छु ।’ तेस्रोलिंगीहरू धेरै बलात्कारको सिकार हुनुपरेको उनले बताइन् । ‘यो पेसामा हुनेहरूले अनेकौं पीडा भोग्नुपर्ने हुन्छ । तर, पनि सहन बाध्य छौं,’ उनले भनिन्रु। सरकारले तेस्रोलिंगीका लागि दीर्घकालीन रोजगारीको व्यवस्था गरिदिए तेस्रो लिंगीले यस्तो पेसा छाड्न तयार रहेको उनी बताउँछिन् ।
तेह्रथुमकी तेस्रोलिंगी गोरी लिम्बूको कथा पनि निशाको जीवनसग मेल खान्छ । २२ वर्षीया उनी विगत पाँच वर्षदेखि इटहरी बस्दै आएकी छन् । कुनै समय मालपोत कार्यालय तेह्रथुममा करारमा कार्यरत उनी सरकारी कर्मचारीबाटै यौन हिंसामा परिन् । ‘देख्दा पुरुष भएपनि अनुहार राम्रो बनाउने चाहना हुन्थ्यो,’ उनी भन्छिन्, ‘मेरो क्रियाकलाप महिलाको जस्तो भएर होला, ती कर्मचारीले ममाथि यौन हिंसा गरे ।’
तेह्र वर्षको उमेरमा बुवाआमा गुमाएकी उनी काका र हजुरआमासँग हेर्केकी हुन् । ‘मेरो हिँडाइ र रहनसहन परिवारले रुचाउन छाडे,’ उनले गुनासो पोखिन्, ‘छोरा मान्छे जस्तो व्यवहार गर्न भन्थे । तर, सकिन ।’ परिवारको दबाबको कारण सोह्र वर्षको उमेरमा आत्महत्याको प्रयास समेत गरेको उनी बताउँछिन् ।
तेस्रोलिंगी एक साथीसँग चिनजानपछि उनी घरबाट निक्लेकी हुन् । जीविकोपार्जनका क्रममा मजदुरी, होटलमा भाडा माझ्नेजस्ता काम गर्न बाध्य भइन् । निजी विद्यालयमा एसएलसीसम्म अध्ययन गरेकी उनी जागिरबाट भने वञ्चित भइन् । ‘मेरो आनीबानीका कारण मैले जागिर पाउन सकिनँ । त्यसैले गुजारा चलाउनका लागि यो पेसा गरिरहेको छु,’ उनले भनिन् । परिवारबाट टाढिए पनि आफ्नोे अस्तित्वका लागि लड्दा उनी खुसी छिन् ।
‘मलाई परिवारले बेवास्ता गरयो तर मेरो चाहनाअनुसार जिउन पाएकी छु,’ उनी भन्छिन् । यो पेसा गर्न त्यति सहज भने नभएको उनको भनाइ छ । गैरकानुनी पेशा भएकाले सर्तक अपनाउनुपर्ने उनी बताउँछिन् । राज्यले तेस्रोलिंगीका लागि छुट्टै रोजगारको व्यवस्था गरिदिए यो पेसा रोज्नुनपर्ने उनको बुझाइ छ । यो पेसा छाडेर अन्य व्यवसाय गर्ने योजनामा रहेको उनले बताइन् ।
इटहरीकी पायल चौधरी पनि तेस्रोलिंगी हुन् । पाँच दाजुभाइ, दुई दिदीबहिनीमध्ये उनी कान्छो छोरा । नौ वर्षको उमेरमा आफूमा फरक महसुस भएको उनले बताइन् । स्नातक पढाइका क्रममा आफ्नै समूहका साथी भेटाएपछि उनी ब्लु डायमन्ड सोसाइटीमा जोडिन पुगिन् । तेस्रोलिंगीको बारेमा बुझ्ने मौका पाएकोमा उनी खुसी थिइन् । एक्लो महसुस गर्न परेन । संस्थामा लागेपछि सहज भएको उनको भनाइ छ ।
पुरुषको पहिरनमा देखिने पायल महिलाको पहिरनमा देखा पर्न थालिन् । बुवा र दाइहरूबाट निकै दबाब झेल्न परयो । विगत पाँच वर्षदेखि उनी यौन व्यवसायमा संलग्न छिन् । तेस्रोलिंगीलाई जागिर पाउन मुस्किल रहेकाले यो पेसा रोज्न बाध्य भएको उनी बताउँछिन् । ‘मैले प्लस टु पढाइ पूरा गरेकी छु । तर मेरो हाउभाउका कारण कतै काम पाउँदिन । बाध्यतावश यो पेसामा छु,’ उनले गुनासो पोखिन् । रातिको पेसा भएकाले निकै चुनौती रहेको उनी बताउँछिन् । ‘रातको समयमा घरबाट निस्कने गर्छु । ज्यानको बाजी राखेर हिँड्नुपर्ने हुन्छ,’ उनले भनिन् ।
सुनसरीमा यौनिक तथा लैगिंक अल्पसंख्यक कुल २ हजार ८ सय ४६ जना रहेका छन् । नील हिरा समाज इटहरीका अध्यक्ष रवि श्रेष्ठका अनुसार परिवारबाट अपहेलित तेस्रोलिंगी महिला यौन पेसामा संलग्न छन् । तेस्रोलिंगी भनेर पहिचान भएपछि समाजमा स्थापित हुन गाह्रो भएको उनले बताए । राज्यले रोजगारीको ग्यारेन्टी गरिदिए तेस्रोलिंगी महिलाले यस्तो पेसा रोज्नुनपर्ने उनको भनाइ छ ।