धरानः धरान–८ जुनियर पायोनियर स्कुलपश्चिम सिदार्थ मार्गमा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
३७ वर्षीय तिलबहादुर माझीले आफ्नै श्रीमतीको हत्या गरेका हुन् । बिहीबार ४ः४० बजे तिलबहादुरले सम्झना माझीको हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले स्थानीयबासीले खबर गरेपछि प्रहरी पुगेको र घाइते सम्झनालाई उठाएर ल्याइएको बताए ।
स्थानीयबासीका अनुसार तिलबहादुरले फरक व्यवहार देखाउँदै आएका थिए । ‘तिलबहादुरले दुई तीनदिनअघि पनि घरबाटै हाम फालेर खुट्टासमेत भाँचेका थिए’, ती स्थानीयबासीले भने, ‘उनको यो फरक व्यवहारले स्थानीयबासी पनि चकित थिए । घरमा श्रीमान श्रीमती र दुई छोराछोरीबाहेक कोही थिएनन्, सम्हाल्न सक्ने कोही नहुँदा यस्तो घटना हुन पुगेको हुनसक्छ ।’
डिएसपी बस्नेतले स्थानीयबासीकै भनाइ उद्धृत गर्दै भने, ‘सबैले फरक व्यवहारकै कारणले हत्या गरिएको हो भन्दै आएका छन्, विस्तृत अनुसन्धानपछि थप कुरा खुल्नेछ ।’
मृतक सम्झनाका बुबाका अनुसार ज्वाइँले बिहानै फोनमार्फत् ‘म ठीक भइसकें’ भनेर भनेका थिए । माथिल्लो तलामा बस्ने मृतकको घरमा छोराछोरीबाहेक अन्य अभिभावक कोही थिएनन् । तल्लो तला भाडामा लगाइएको छ ।
मृतकको टाउकोको पछाडि भाग र गर्धनमा काटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते बनेकी सम्झनालाई उपचारको लागि बीपी प्रतिष्ठान लगिएको र उपचारको क्रममा बेलुका पौने ६ बजे मत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेका तिलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
तिलबहादुरको धरान–८ र बेलबारीमा समेत घर छ । पहिला ड्राइभर उनी विदेश पुगेर कमाएपछि घरघडेरी जोडेको स्थानीयबासी बताउँछन् ।
