धरानः धरानमा अझै खानेपानीको समस्या समाधान हुन सकेको छैन । हर्क साम्पाङ नेतृत्वको समूहले एकातिर पानी चाहियो भन्दै दिनहुँजसो आन्दोलन गरिरहेको छ भने अर्कातिर साँच्चै नै धरानबासी काकाकुल बनिरहेकाको अवस्था छ । केही वडामा मात्रै खानेपानीको सहज आपूर्ति भएपनि अधिकांश वडामा अहिले पनि समस्या ज्युँका त्युँ छन् । त्यही कारणपनि धरानबासी आक्रोशित छन् ।
अन्ततः धरानेलाई छेलोखेलो पानी खुवाउँछौं भनेर लाग्नेहरुले किन पानी खुवाउन सकेनन् कहिलेदेखिचाहिँ पानी सहज उपलब्ध हुने हो ठ्याक्कै मिति तोकौं, अहिले जहाँ–जहाँ एडिबीको पानी खुवाइएको छ, त्यहाँ १६ घण्टा पानी आइरहेको छ त ?, करारमा कर्मचारी ल्याउनुहोस् कि अन्य तरिकाले ल्याउनुहोस् कि जेसुकै भएपनि पानी कहिलेदेखि सहज हुन्छ त ? लगायतका प्रश्न पत्रकारहरुले तेस्र्याएका थिए ।
धरान उपमहानगरपालिकाले पटक–पटक पत्रकार सम्मेलन राख्दै खानेपानी मर्ज, खानेपानीको समस्या आदिबारे पत्रकार सम्मेलन गरिरहेको छ । आइतबार पनि पानीकै विषयमा पत्रकार सम्मेलन आयोजना भएको थियो ।
धरानका अग्रज पत्रकार हर्ष सुब्बाले प्रश्न गरे–तपाई (राजु पोख्रेल, आयोजना प्रमुख) र मेयरसा’ब दिनरात खटिरहनुभएको छ, राजु जीले भन्नुहोस्, कति दिनभित्रमा पानी वितरण हुन्छ (समानुपातिक वा अन्य तवरले ) ? उनको आसय थियो– जहिल्यै पत्रकार सम्मेलन भनिएको छ, तर पानी आउनेबारेको आशलाग्दो र राम्रो म्यासेज दिन सकिएको छैन । उनले अर्कोकुरा पनि सुझाए– पूर्णरुपमा पानी वा परीक्षण गरिसकेर मात्रै पानी भन्ने शब्द नै ननिकाल्नुहोस्, म्यासेज गलत जान्छ, बिराएर, आधा घण्टा पानी दिन्छौं भन्नुहोस्, परीक्षणकाल भन्दै फेरि बर्खा पर्खिनुपर्ने नभन्नुहोस् । पानी सहज भएपछि म्यासेज राम्रो दिने हिसाबले अर्को पत्रकार सम्मेलन गर्नुहोस् । अन्य पत्रकारहरुले पनि विभिन्न प्रश्न तेस्र्याएका थिए ।

खासमा भन्ने हो भने योभन्दा अघि धरानमा पानी जसरी आयो, धराने जनतालाई जस्तो कष्ट भयो भयो, अब एडिबीको पानी आएपछि दिन बिराएर छेलोखेलो पानी वितरण गर्ने भनिएकै हो । तर पनि अहिले खानेपानी संस्थानसमेत धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज भइसकेपछि पनि पानी नआएपछि धरानबासी आक्रोशित बन्दै आएका छन् ।
अहिले बोर्डका पदाधिकारी रातदिन नभनी खटिरहेका छन्, मेयर, आयोजना प्रमुखलगायतको टोली पाइप मर्मत गर्दै गरेको, अनुगमनमा खटिरहेका पनि छन् तर किन भनेजति पानी आइरहेको छैन ? धरानबासीको यक्ष प्रश्न हो यो ।
यी र यस्तै प्रश्न धराने जनताले गरिरहँदा धरान उपमहानगरपालिकामा आइतबार पत्रकार सम्मेलन नै आयोजना गरेर यसको चिरफार गर्ने प्रयत्न गरिएको छ । धरान उपमहानगरपालिकाका मेयर राईले त फेसबुक, सामाजिक सञ्जालमा आएजस्तो टिकाटिप्पणीको विश्वास नगर्न समेत आग्रह गरे ।
उनले खानेपानी अभाव भइरहेको र केही समयभित्रै समस्याको समाधान हुने जवाफ दिए । उनी र आयोजना प्रमुखले समेत कहिलेदेखि पानी सहज हुन्छ भन्नेबारेमा ठ्याक्कै मिति भने तोक्न सकेनन् । परामर्शदाता बिडिएका निर्देशक अनिल नेपालले समेत खानेपानी वितरणलाई सहज बनाउन आफूहरु लागिपरेको समेत ठोकुवा गरे । मेयर राईले संस्थानको बिग्रिएको दुईवटा पम्प र मेनलाइन पाइप मर्मतको काम सकिएपछि एकदिन बिराएर भएपनि पानी खुवाउने दावी गरे ।

‘उत्पादन भएको पानी टयाङ्कीसम्म पुग्नै सकेको छैन, नन रिटर्न भल्भ राख्ने, लिकेज मर्मत गर्ने, पम्पहरु मर्मत गर्ने, नयाँ खरिद प्रक्रिया अघि बढिसकेको छ’, उनले भने, ‘चाँडै नै समस्याको समाधान हुन्छ, ढुक्क हुनुहोस्, भनेजति पानी आइहाल्छ, केही समय नगरबासीहरुमा ढुक्क हुन आग्रह गर्दछु ।’
आफूसँग पानी खुवाउन सक्ने ‘कन्फिडेन्स’ जागेको उनले बताए । ‘अहिले ट्याङ्की पूरा भरिएको अवस्था पनि छ, ट्याङकी पूरा भरिसकेको आधार तय भइसकेपछि पानी खुवाउन सकिन्छ भन्ने ‘कन्फिडेन्स’ जागेको छ’, उनले थपे, ‘त्यसकारण नगरबासीलाई म मेयरको हैसियतले आग्रह छ–खानेपानी (घर बनाउने, बारी भिजाउने पानी होइन) खानेपानी दिन सक्ने अवस्थाचाहिँ अवश्य छ तर पर्खिदिनुपरयो ।’
उनले वितरण प्रणालीलाई केही सहज गर्न लागिपरेको उनको भनाइ छ । उनले कर्मचारीलाई सहयोग गर्न र आफूखुशी पानीको मोटर नराख्न आग्रह गरे ।
आयोजना प्रमुख पोख्रेलले पानीको अवस्था सुधार गर्न आफूहरु लागिपरेको बताए । वितरण प्रणालीमै सुधार गर्नुपर्ने बताए । ‘संस्थानमा भएका कर्मचारी र बोर्डमा भएका कर्मचारीसँगको समन्वयमा अहिले वितरण प्रणाली सुधार्ने कोसिस गरिरहेका छौं ।’ उनले भने ।
तस्वीरः हाम्रो कोशी आवाज
