Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पानीमा गिद्दे दृष्टि !

हाम्रो कोशी आवाज
बैशाख १ २०७८, बुधबार
पानीमा गिद्दे दृष्टि !

धरानः धरान–१९ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको खानेपानीको मुख्य पाइपलाइनमा जमिन खनेर प्वाँल पारेका छन् ।
अज्ञात केहीले सो पाइपलाइनमा प्वाँल पारेको हो । दुईजना व्यक्तिले खनेर जंगलबाट पम्पिङ गरेर ल्याएको खानेपानीको मुख्य पाइपलाइनमा प्वाँल पारेको स्थानीयबासीले बताएका छन् ।
पाइपलाइनमा प्वाँल पारेपछि बीपी प्रतिष्ठानमा खानेपानीको अभाव भएको थियो । खानेपानी अफिसबाट आएको भन्दै अज्ञात दुई व्यक्तिले जमिन खनेर प्रतिष्ठानमा वितरण हुने पाइपलाइनमा प्वाँल पारेर भागेको स्थानीयबासीले बताएका छन् ।
ती दुई जना युवाहरु को हो ? भनेर छुट्याउन नसकिएको स्थानीयको भनाई छ । प्रतिष्ठानका खानेपानीको कर्मचारी जीवन मगरका अनुसार बीपीमा गएराति १ बजेदेखि पानी अवरुद्ध भएको थियो ।
स्थानीय गीता लिम्बूका अनुसार ती दुई अज्ञात व्यक्तिले पाइप प्वाँल पार्न मेसिनको प्रयोग गरेका थिए । जमिन खनेर पाइपमा प्वाँल पारेलगत्तै पानी निस्कन थालेको र पानीको भार रोक्न नसकेपछि भागेको उनले जानकारी दिइन् । ‘भर्खरको केटाहरु थिए, के गरेको भाइ भन्यौं, माथि खानेपानी अफिसबाट आएको भने । पानी फोर्समा आएपछि थुन्न सकेनन्, उनीहरु भागिहाले ।’
खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेलले जमिन खनेर खानेपानीको पाइपलाइनमा प्वाल पारिएपछि प्रतिष्ठानमा खानेपानी अवरुद्ध भएको र खानेपानीको अभाव समेत भएको बताए ।
‘हामीलाई राति नै जानकारी भएको र राति अनुगमन गर्न आएका थियौं, राति काम गर्न समस्या भएपछि अहिले काम गरिरहेका छौं ।’ खानेपानी निरन्तर बगेपछि सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बूले बोर्डका सदस्यलाई राति जानकारी गराएको बताए । बिहान मर्मत गरिएपछि पानी सुचारु भएको उनले बताए ।
प्वाँल पारेको स्थानमा नगर प्रमुख तिलक राई अनुगमनमा पुगेका थिए । मेयर राईले केही मानिस र साविकका खानेपानी संस्थानका कर्मचारीहरुबाट जानाजान असहयोग भइरहेको दावी गरे । ‘जानाजान नै असफल बनाउने प्रयास भएको देखियो’, मेयर तिलक राईले भने, ‘विशेषतः संस्थानकै कर्मचारी पो लागेको देखियो त ।’
इलाका प्रहरी कार्यालयलाई पनि यस विषयमा जानकारी गराएको उनले बताए । ‘अनाधिकृतरुपमा जसले जोर जबरजस्ती गर्छ, त्यसलाई कानुनी कारबाही हुनुपर्छ,’ नगर प्रमुख राईले भने । उनले सिंगो नगरबासीलाई आग्रह गर्दै खानेपानी आपूर्तिको लागि सक्ने उपाय गरिरहेको बताउँदै भने, ‘आयोजना हामीले जिम्मा लिएका होइनौ, आयोजना त कन्सल्टेन्ट र ठेकेदारलाई जिम्मा लगाएका छौं, अब ९ महिना उनीहरुले अप्रेशन गरेर ठीक भएपछि हामीलाई जिम्मा लगाउँछ, अहिले पनि कहाँ कहाँ पानी पुग्दैन, कहाँ कहाँ धारा पुग्दैन हामी दिन तयार छौं, तर धरानबासी नआत्तिनुहोस् ।’

प्रकाशित मिति: बैशाख १ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend