
धरानः धरान-५ ठिङ्गाबारीमा नयाँ आशा कृषि फर्म सञ्चालनमा आएको छ ।
धरान बस्दै आएका राम लिम्बू र सीता लिम्बू दम्पत्तिले सो फर्म सञ्चालनमा ल्याएका हुन् । फर्म सीताको नाममा दर्ता रहेको छ ।
२ कठ्ठा जग्गा लिजमा लिएर १२ लाख रुपैयाँको लगानीबाट शुरु गरिएको फर्ममा ४० वटा बङ्गुरपालन गर्न सकिने क्षमता रहेको र बच्चा उत्पादन गरेर बिक्री वितरण गर्ने योजना रहेको लिम्बूले बताए । विगतमा घरेलु तवरबाट ५-७ बटा बङ्गुर पाल्दै आएका उनीहरुले फर्म सञ्चालन गर्न खासै समस्या नहुने बताएका छन् ।
भविश्यमा बङ्गुरपालन सँगसँगै अन्य पशुपालन, सागपात र फलफूल खेती समेत गर्ने योजना रहेको लिम्बूले जानकारी दिए । सञ्चालक दम्पत्ति वल्र्ड पीस फाउण्डेसनसँग पनि आवद्ध भएकाले सो स्थानबाट विश्व शान्तिसँग सम्बन्धित संस्थागत कार्यक्रम सञ्ंचालन गर्ने गरी कार्यालयको पनि उद्घाटन गरिएको थियो ।
नयाँवर्ष २०७८ को अवसरमा वैशाख १ गते फमले आफ्नो कृषि कार्यको शुरुवात बङ्गुरपालन बाट शुरु गरेको छ । बङ्गुरफर्मको उद्घाटन ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीले गरेका छन् ।
कार्यक्रममा बोल्दै कृषि कर्म राम्रो काम हो तर अत्यन्तै धेरै परिश्रम, लगन र धैर्यताका साथ काम गर्नुपर्ने अनि मात्र सफलता प्राप्त हुने प्रमुख अतिथि कार्कीले बताए । प्रमुख अतिथि ब्लाष्टका प्रधान सम्पादक कार्कीको ६१ औ जन्मदिवस परेकाले अयोजकहरुले केक काट्ने कार्यक्रम पनि आयोजना गरेर जन्म दिवस मनाएका थिए । कार्यक्रममा युएन कलेजका क्याम्पस प्रमुख डम्बर तुम्बापो, कृति टेलिभिजनका मोहन श्रेष्ठ, शान्तिदुत पुष्कर थापा लगायतले बोलेका थिए ।



