धरानः धरान–१२ स्वस्तिका चौकस्थित खानेपानीको रिजर्भ टङ्याकीको बिजुलीको तार र मेसिनरी संरचनाहरुमा गएराति आएको हावाहुरीले क्षति पुरयाएको छ ।
गएराति आएको हावाहुरीले रिजर्भ ट्याङ्कीको बिजुलीको तार र कन्ट्रोल प्यानलमा क्षति पुरयाएको खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेलले जानकारी दिए । उनका अनुसार मुख्य विद्युत सप्लाई हुने कन्ट्रोल प्यानलमा क्षति पुरयाएको हो । कन्ट्रोल प्यानल बिग्रिएको कारण आज (शुक्रबार) धरान–१२, ९, १०, ११, १८ र २ नं. वडामा खानेपानी वितरण नहुने भएको छ ।
स्वस्तिका चौकदेखि पूर्व चतरालाइन, भानुचौक, बगैंचालाइन, आचार्यलाइन, पुतलीलाइन, कलेजरोड लगायतका स्थानहरुमा पानी वितरण गर्ने पालो रहेको थियो । बोर्डका निर्देशक पोखरेलले गएराति ११ बजेदेखि सो संरचना बिग्रिएको जानकारी दिँदै राति देखि नै प्राविधिक कर्मचारीले बनाउने प्रयास गरिरहेको बताए । ‘बिग्रिएको संरचना बन्ने बित्तिकै खानेपानी वितरण गर्छौ, अहिले कर्मचारीहरु खटिरहेका छन् ।’ राति नै रिजर्भ ट्यांकीमा क्षति पुरयाएको थाहा पाएपछि विद्युत प्राधिकरणलाई खबर गरिएको थियो । साविक खानेपानी संस्थानको संरचनाहरु जीर्ण रहेको कारण एकपछि अर्को बिग्रिँदै आएको छ ।