Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भूमिहीन सुकुम्बासीका लागि निर्णय

हाम्रो कोशी आवाज
बैशाख ६ २०७८, सोमबार
भूमिहीन सुकुम्बासीका लागि निर्णय

धरानः धरान उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई फारम वितरण गर्ने तयारी गरेको छ ।
धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईको अध्यक्षतामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन प्रमाणिकरण तथा नाप नक्सा गर्ने कार्यमा सहयोग र सहजीकरण गर्न बनेको भूमि सम्बन्धि समस्या समाधान सहजीकरण समितिको आज (सोमबार) बसेको बैठकले वडा वडामा फारम वितरण गर्ने तयारी गरेको हो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न फारम वितरण गर्ने भएको छ । धरानको २० वटै वडामा कर्मचारी व्यवस्थापन गरिएको जनाएको छ ।
सहजीकरण समितिको पहिलो बैठकले आज (सोमबार) देखि शनिबारसम्म प्रचार प्रसार गर्ने, विशेष गरेर धरान उपमहानगरको सबैभन्दा बढी सुकुम्बासीको बसोबास रहेका वडाहरु ५, ११, १३, १५, १६ र १७ मा कार्यक्रम गरी प्रचार प्रसार गर्ने भएको छ ।
यसको लागि सहजीकरण समितिका सदस्यहरुसँग समन्वय गरी प्रचार प्रसार सामग्री तयार गर्ने निर्णय गरिएको लगत संकलन इकाई प्रमुख वेदप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिडको संक्रमण तथा भीडभाड व्यवस्थापन गरी सकेसम्म घरघरमा गएर फारम भराउने कार्यका लागि योजना बनाउन सबै वडाहरुलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ । वैशाख १२ गते आइतबारदेखि फारम भराउने कार्य सुरुवात गरिने बैठकले निर्णय गरेको छ ।
सहजीकरण समितिको अर्को बैठक वैशाख ११ गते शनिबार बिहान ८ बजे बस्ने निर्णय समेत गरिएको छ ।
सहजीकरण समितिमा नगर प्रमुख तिलक संयोजक, उपप्रमुख मञ्जु भण्डारी उपसंयोजक, प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल सदस्य सचिव, नेकपा एमालेका प्रतिनिधि राजमणी निरौला सदस्य, नेपाली कांग्रेसका प्रतिनिधि नरसिंह राई सदस्य, नेकपा एमालेका प्रतिनिधि हर्कजङ एभेङ सदस्य, माओवादी केन्द्रका प्रतिनिधि सुदर्शन श्रेष्ठ सदस्य, जनता समाजवादी पार्टीका प्रतिनिधि ताजुब लिम्बू सदस्य, कार्यपालिका सदस्य हिरादेवि राई सदस्य, कार्यपालिका सदस्य कल्पना थापा मगर सदस्य, सुवास राई सदस्य र पञ्चकला राई सदस्य रहेका छन् ।

प्रकाशित मिति: बैशाख ६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend