धरानः धरानमा मङ्गलबार अधिकांश उपभोक्ता अधिकांश पेट्रोल पम्पसम्म भौतारिन बाध्य बनेका छन् । अधिकांश पेट्रोल पम्पमा चिहाउँदै उपभोक्ता फर्किन बाध्य थिए । धरानमा महङङ्गीको पेट्रोल पनि सहजरुपमा पाउन नसकेको उपभोक्ताले गुनासो गरेका छन् ।
पेट्रोल आइहाले वा वितरण भइहाले पनि पम्पहरूमा केहीदिनदेखि उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । पेट्रोल अभावमा पम्पमा उपभोक्ताको लाइन बढेको हो । तेल आपूर्तिकर्ता नेपाल आयल निगमले पट्रोलियम पदार्थको अभाव नभएको बताइरहेकै छ तर धरानमा अभाव कायमै छ ।
धेरै जसो पेट्रोल पम्पहरुले लामो लाइन लगाएरै भए पनि पेट्रोल वितरण गरिरहेका छन् । मङ्गलबार केही पम्पले भने ‘पेट्रोल छैन’ भन्ने सूचना समेत टाँसेका छैनन् । पेट्रोल पम्प कपडाले छोपिएका छन् ।
पेट्रोल पम्पहरुमा किन पेट्रोल छैन, भोलि आउँछ भन्ने गरिन्छ र उपभोक्ताको लाइन किन बढ्यो ? कसको हेलचेक्रयाइँ छ ? मङ्गलबार धरान–१५ का उपभोक्ता प्रतिमा राईले प्रश्न गरिन् । पेट्रोल पम्पवालाहरुको जवाफ थियो– खासमा दुई दिन सार्वजनिक विदा हुँदा पेट्रोल आउनै सकेन ।
‘एक दिनपनि आपूर्ति नभए अत्यावश्यक वस्तुको अभाव र कालोबजारी बढ्छ भन्ने थाहा हुँदाहुँदै हेलचेक्रयाइँ बढिरहेको छ’, टेम्पोचालक रत्न चौलागाईंले भने, ‘ब्ल्याकमा महङ्गो मूल्य तिरेर तेल हाल्नुपरिरहेको छ, यसको लागि कसले मतलव राख्ने ?’ धरानमा यसरी नै चलेको सातादिन भइसकेको छ, पेट्रोल पम्पमा नपाउने बाहिरचाहिँ पाउने यस्तो पनि हुन्छ ।’
कतिपय उपभोक्ताले लाइनमा बस्दासमेत पेट्रोल सहजरुपमा पाउन नसकेको गुनासो गरेका छन् । ‘कम्तीमा लाइनमा बस्दा वा लाइनमै नबसीपनि सहजरुपमा तेल पाउनुपर्ने हो कि होइन ?’ धरान–१९ का पूर्ण लिम्बूले भने, ‘तेल सकिएपछि हामीलाई तेल दिने भन्दै झुलाउने मात्र काम मात्रै पनि भएको छ ।’
धरानमा पेट्रोल नपाउने त्रासमा इन्धन जोहो गर्न तछाडमछाड गर्दै लाइनमा बस्ने र नाकाबन्दीकै बेला जस्तो सवारी साधन मात्र होइन, जर्किन, ग्यालेन र बोटल लिएर उपभोक्ताहरु पेट्रोलपम्पमा कुरिरहेकोको देखिने गरेको छ ।
आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । गत शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ । डिजलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ ।