धरानः श्री त्रिभुवन धर्मोदय माविमा सोही वडा निवासी स्व. इन्द्रबहादुर राईको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।
भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका वडा नम्बर–२ मा रहेको सो विद्यालयमा उनको श्रीमती रुपकला राई र परिवारले एक लाख रुपैयाँको स्व. इन्द्रबहादुर राई स्मृति अक्षयकोषको स्थापना गरिएको हो ।
सो अक्षयकोषबाट कक्षा १ देखि १० सम्मका गरिब तथा जेहेन्दार १ छात्र र १ छात्रा लाभान्वित हुने विद्यालयका युवा प्रधानाध्यापक राजन राईले बताए ।
विद्यालयमा युवा प्रधानाध्यापक नियुक्ति भएसँगै विद्यालयको मुहार फेरिँदै गएको शिक्षक एकनाथ लुइँटेलले जानकारी दिए । प्रधानाध्यापक राईका अनुसार यही महिनाभित्रै यस विद्यालयको बाल कक्षालाई बालमैत्री र नमूना बालकक्षा बनाउने योजना रहेको समेत जानकारी गराए ।