Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बुर्काबाट बाहिरिँदा…

हाम्रो कोशी आवाज
बैशाख १० २०७८, शुक्रबार
बुर्काबाट बाहिरिँदा…

इटहरीः अरू समुदायसग घुलमिल गर्न नपाइने । घरबाहिर निस्कन कडा नियम । कतै जानुपर्ने भए कालो बुर्का वा हिजाब लगाएर मात्रै निस्कनुपर्ने । त्यो पनि परिवारको अनुमति लिएर ।
थुप्रै समुदाय मिलेर बसेको समाजमा आफूजस्तै अरूले पर्दा बाहिर निस्कन पाएका छन्, मुस्लिम महिलाका लागि नियम कडा छन् । कतिपय मुस्लिम महिलाले भने यस्तो समस्या झेल्दै साहसका साथ सामाजिक काममा आफूलाई समर्पित गरिरहेका छन् । यसको उदाहरण बनेकी छिन्–इनरुवा बबिया चोककी ३८ वर्षीया सहजादी प्रवीन ।
डेढ दशकदेखि महिला अधिकारका क्षेत्रमा सक्रिय उनी पूर्वाञ्चल महिला मानव अधिकार सञ्जालकी सदस्य हुन् । हरेक क्षेत्रमा मुस्लिम महिलाको न्यून उपस्थित रहेको अवस्थामा विवाहित महिलालाई घरबाहिर निस्कनु चानचुने कुरा होइन । समाज र परिवारको डर पालेर आफ्नो आकांक्षा मार्ने कयौं मुस्लिम महिला छन् । उनी भने सामाजिक काममा मग्न छिन् ।
उनी मोरङको विराटनगरमा हुर्किन् । निजी विद्यालयमा पढ्ने अवसर पाइन् । कक्षा–१० मा पढ्दै गर्दा हजुरआमाको अडानका कारण उनको १५ वर्षको उमेरमै विवाह भयो । परिवार छोरीका लागि कडा नियम मान्दैनथ्यो । त्यसैले विराटनगरमा हुर्केकी उनलाई बाल्यकालमा मुस्लिम समुदायका कडा नियम पालन गर्नुपरेको थिएन । विवाहपछि निकै बाँधिनुपरयो । ठूलो परिवार भएकाले खाजा र खाना बनाउँदा नै दिन बित्ने गरेको थियो ।
व्यक्तिगत खर्चका लागि समेत परिवारको सदस्याको आशा गर्नुपर्ने अवस्था थियो । घरबाट बाहिर आफूखुसी निस्कन पाइँदैनथ्यो । पारिवारिक वातावरण यतिसम्म कडा थियो कि, दैलो बाहिरसम्म जाने आँट महिला सदस्यको हुँदैनथ्यो । उनी भन्छिन्, ‘घरको सिकुवासम्म निस्कँदासमेत श्रीमानले गाली गर्नुहुन्थ्यो । यस्तो अवस्थामा खुलेर काम गर्ने भन्ने टाढाका कुरा थियो ।’
घरेलु हिंसापीडित उनले एक कठोर निर्णय गरिन् । ‘अब चुपचाप बसेर हुँदैन, संघर्ष गर्छु भन्ने निर्णय गरें,’ उनले भनिन्, ‘घरदेखि बाहिर संसार हेर्ने र महिलाको क्षेत्रमा काम गर्ने चाहना थियो ।’ जब उनले संघर्ष गर्ने निर्णय गरेकी थिइन्, त्यहीबेला एक नातेदारले वडामा स्वयंसेविकाको जागिर खुलेको बताए । त्यसका तलबको व्यवस्था थिएन ।

प्रकाशित मिति: बैशाख १० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend