Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको लगत संकलन गर्न फारम वितरण

हाम्रो कोशी आवाज
बैशाख १२ २०७८, आइतबार
धरानमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको लगत संकलन गर्न फारम वितरण

धरानः धरानमा भूमिहीन दलित, भूमिहीन सुकम्बासी तथा अव्यवस्थित बसोबासको लगत संकलन गर्न फारम वितरण कार्य सुरु भएको छ ।
आज (आइतबार) बिहान धरान उपमहानगरका नगर प्रमुख तिलक राईले धरानको १५ नं. वडा कार्यालयबाट फारम वितरण कार्य सुरु गरेका छन् ।
सहजीकरण समितिका संयोजक समेत रहेका नगर प्रमुख राईसहितको टोलीले धरानको १३, १६, ११, १७, ४, ५ र ८ नं. वडा कार्यालयमा पुगेर फारम वितरण गरेको हो । यी वडाहरुमा धरानको सबैभन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको बसोबास रहेका छन् । बाँकी रहेका वडाहरुमा सम्बन्धित वडाका वडाध्यक्षहरुलाई आइतबार धरान उपमहानगरपालिकामा बसेको कार्यपालिकाको बैठकमा नगर प्रमुख राईले फारम वितरण गरेका थिए ।
लगत संकलन इकाईका संयोजक वेदप्रसाद सापकोटाले भूमि आयोगले उपलब्ध गराएको फारम धरान उपमहानगरपालिकाले वडाहरुमा वितरण गरेको जानकारी दिए । उनका अनुसार वडा नं. १ मा ३० वटा, २ मा २५ वटा, ३ मा ९२ वटा, ४ मा १५० वटा, ५ मा १६९० वटा, ६ मा ५६५ वटा, ७ मा ३० वटा, ८ मा ३६५ वटा, ९ मा १० वटा, १० मा ३३ वटा, ११ मा १४५६ वटा, १२ मा २५ वटा, १३ मा ५६५ वटा, १४ मा १५० वटा, १५ मा ११०७ वटा, १६ मा ४६३ वटा, १७ मा १२११ वटा, १८ मा २५ वटा, १९ मा १०६ वटा, २० मा १८७ वटा फारम वितरण गरिएको छ । आयोगले धरानको लागि १४ हजार ५ सय फारम उपलब्ध गराएको थियो ।
फारम पाए पनि वडा नं. १५ र १३ ले मात्र फारम भर्न शुरुवात गरेको सापकोटाको भनाई छ । अन्य वडाहरुले आवश्यक तयारी गरेर सम्भवतः भोली सोमबारदेखि फारम भर्न थाल्ने बताइएको छ । भूमिसम्बन्धी समस्या समाधान गर्न नगर प्रमुख तिलक राईको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । सो समितिले कही कतै समस्या आएमा समाधान गर्न सहजीकरण गर्नेछ । यस्तै, वडास्तरमा पनि सहजीकरण समिति गठन गरिएको छ ।
नगर प्रमुख राईले वडाहरुमा फारम वितरण गर्दै रातो फारम देशभरि आफ्नो परिवारको नाममा एक टुक्रा पनि जग्गा नहुनेले भर्नुपर्ने जानकारी दिए । यस्तै, सेतो फारम आफ्नो नाम वा परिवारको नाममा कही जग्गा भएपनि ऐलनी जग्गामा बसिरहेको वा घेराबार गरेर बसिरहेकाहरुले भर्ने फारम भएको उनले बताए ।
‘रातो फारम भर्नेले एक पटक निःशुल्क जग्गा पाउनुहुन्छ, सेतो फारम भर्नेले सरकारले तोकेको न्युनतम शुल्कमा राजश्व तिरेर लिनुपर्ने हुन्छ, कति जग्गा पाउने भन्ने यसको विधि छ,’ उनले भने ।
नगर प्रमुख राईले वास्तविक सुकुम्बासी, वास्तविक भूमिहीन र वास्तविक अव्यवस्थितलाई माात्र फारम भराउन आग्रह गरे । फारममा वडाअध्यक्ष र सम्बन्धित टोलका वडा सदस्यले, वडा सचिवले हस्ताक्षर गर्नुपर्ने भएकोले आफ्नो टोल र वडामा फारम भर्नेहरुलाई राम्रोसँग हेर्न समेत नगर प्रमुख राईले आग्रह गरे । ‘वडा सदस्यले, अध्यक्षले, सचिवले हस्ताक्षर गर्नुपर्छ । आफ्नो टोलको राम्रोसँग मान्छे हेनुपर्छ, जवाफदेही हुनुपर्छ,’ नगर प्रमुख राईले भने, ‘भोली सर्जमिन मुचुल्का हुन्छ । नहुने मान्छे सिफारिस भयो भने कारबाही हुन्छ ।’ कर्मचारीहरुले पनि दिनभरिमा भरेको फारम घर लैजान नपाउने र साँझ भएपछि सम्बन्धित वडा कार्यालयमा बुझाउनुपर्ने बताए ।

प्रकाशित मिति: बैशाख १२ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend