धरानः धरानलगायत प्रदेश १ मा ‘तपाईको मास्क खै ?’ अभियान चलाइने भएको छ ।
१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश १ का १४ जिल्लास्थित रहेका ९२ वटा ट्राफिक प्रहरी इकाईहरुबाट मंगलबारदेखि यो अभियान चलाइने भएको छ ।
सडक प्रयोगकर्तालाई कोरोना भाइरसको संक्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गरौं भनी सचेता अभियान सञ्चालन गरिने र नलगाउनेलाई मास्क समेत वितरण गरिने १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
प्रत्येकको हातहातमा मास्क थमाउने अनि कोरोना जोखिमबाट सतर्क रहन आग्रह गरिने उनको भनाइ छ । ‘जब लकडाउन खुल्यो, त्यो बेलादेखि बजारमा मास्क प्रयोगकर्ताहरु कम बन्दै गईरहेका छन्,’ उनी भन्छन्, ‘सरकारले मास्क प्रयोगमा गरेको अनिवार्य हाम्रै लागि हो भन्ने मानसिकता हामीबाट हराउँदै गएको जस्तो देखिन थालेको छ, अतः कोरोनाको जोखिम पुनः बढेकाले मास्कको प्रयोग अनिवार्य छ है, भन्ने सन्देश प्रवाह गर्नु मेरो अभियानको मुख्य लक्ष्य हो ।’
यसैबीच धरान–१३ मा पनि यो अभियान सञ्चालन भइसकेको छ । धरान १३ नं. वडाले अस्थायी प्रहरी चौकी अमरहाटको सहकार्यमा कोरणा संक्रमणबाट कसरी सुरक्षित हुने भन्दै हरेक टोलमा गई परामर्श दिँदै माक्स नलगाई हिँडडुल नगर्न अनुरोध गरिएको वडाध्यक्ष नेत्र काफ्ले जानकारी दिए । माक्स नलगाई हिँडडुल गर्नेलाई सम्झाइबुझाई निःशुल्क माक्ससमेत वितरण गरिएको उनले जानकारी दिए । यस्तै, ट्राफिक प्रहरीले टोलटोलमा पुगेर माइकिङ समेत गरेको थियो ।
सरकारले लकडाउन हटाएपछि बजारमा मास्क प्रयोगकर्ताको संंख्या कम हुँदै गएको छ ।

