धरानः ट्रकको ठक्करले एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २४ वर्षीय राकेश राई रहेका छन् । उनको घर धनकुटाको साँगुरीगढी-४, आहाले रहेको प्रहरीले जनाएको छ ।
इटहरी-धरान सडक खण्डअन्तर्गत तरहराको पानीपिया भन्ने ठाउँमा ट्रकले ठक्कर दिँदा उनको उपचारको क्रममा मृत्यु भएको हो । सोमबार दिउँसो मोटरसाइकलमा सवार उनलाई ट्रकले ठक्कर दिएको थियो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफन्तकाअनुसार उनी धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित डाँडाबजारको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत् स्वास्थ्यकर्मी (हेल्थ असिस्टेन्ट ‘एचए’ पद) मा कार्यरत थिए ।
इटहरीबाट धरानतर्फ आइरहेको प्रदेश १-०२-०४० च ५८२७ नम्बरको मोटरसाइकलाई ना५ख ५८२३ नम्बरको ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको अन्य सवारीका यात्रुले नै उद्दार गरेर प्रतिष्ठान ल्याएका थिए । यात्रुले उनलाई रगताम्य अवस्थामा फेला पारेका थिए । उनलाई उपचारका लागि धरान ल्याउँदै गरेको जानकारीसहितको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आफन्त आइपुगेका थिए । ट्रक चालक फरार रहेको र खोजी तीब्र बनाएको प्रहरीले जनाएको छ ।
