विराटनगरः मोरङको लेटाङ–८ स्थित जाँते बजारमा बसले किचेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मिक्लाजुङ–५ जोगीटारका ५१ वर्षीय सहवीर मगर रहेका छन् । पथरीबाट को१ख १९२४ नम्बरको बसमा चढी आएका मगरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडिको चक्काले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
बस र चालक पथरीशनिश्चरे–४ का ३३ वर्षीय गंगाप्रसाद लुइँटेल प्रहरीको नियन्त्रणमा रहेको मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, बेलबारी–८ चिसाङ पुुलमा मोटरसाइकलको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गमा तीब्र गतिमा पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा बेलबारी–९ की ८३ वर्षीया मनमाया तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते बनेकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।