विराटनगरः जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर पनि निषेधाज्ञा जारी गरेको छ ।
महानगरपालिका र यससँग जोडिएका गाउँपालिकामा निषेधाज्ञा जारी भएको जनाइएको छ । सीमाना जोडिएको कटहरी, जहदा र बुढीगंगा गाउँपालिकामा पनि शनिबार राति १२ बजेदेखि सात दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् ।
विराटनगरसहितका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रशासनले भाइरसको चेन ब्रेक गर्न निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा अवधिभर नियम पालना गर्न सर्वसाधारणलाई अपिल गरिएको छ । अत्यावश्यक सेवामा सञ्चालन हुने विद्युत, पानी, दूध, डेरी, सञ्चार, फलफूल, एम्बुलेन्स, बिरामी बोकेको गाडी, शववहान र सरकारी नम्बर प्लेटका गाडीबाहेक अन्य सवारी पूर्णरुपमा सञ्चालनमा रोक लगाइएको छ । सरकारी कार्यालयहरु आलोपालो प्रणालीमा सञ्चालन गरिनुपर्नेछ । जिल्लाभर राति ८ बजेदेखि बिहान ५ बजेसम्म पूर्णरुपमा आवातजावतमा रोक लगाइएको छ ।

