धरानः धरान प्रहरीले निषेधाज्ञाको पहिलोदिन निषेधाज्ञा उल्लंघन गर्ने टेम्पो, मोटरसाइकललाई सम्झाइबुझाइ पठाएको पाइएको छ ।
वडा प्रहरी कार्यालय धरानका सई पूर्णबहादुर जोशीले १५० भन्दा बढी मोटरसाइकल र टेम्पो नियन्त्रणमा लिँदै सम्झाइबुझाइ छोडिएको बताए । तर पनि धरानमा निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने उनले जानकारी दिए ।
‘चाबी र मोटरसाइकल थुपार्ने ठाउँ नभएको, नियन्त्रणमा लिइएका मोटरसाइकल, टेम्पो पहिलोदिन सम्झाइबुझाइ छोडिदिने आदेश आएको छ’, उनले भने, ‘अहिले नियन्त्रणमा लिइएका सवारीसहित छोडिसक्यौं ।’
यसैबीच मोटरसाइकललगायत सार्वजनिक सवारी साधन गुडिरहेको अवस्थामा हिँडिरहेकका एक जड्याहालाई बिहानै प्रहरीले समातेको छ । समातेको २० मिनेटमा पवर्त मोते (परिवर्तित नाम) छोडिएको प्रहरीले जनाएको छ । सई जोशीले भने, ‘बिहानै रक्सी खाएर लफडा मच्चाएको पाइयो, घरी सार्वजनिक बस गुडेको स्थानमा कुद्ने, घरी होहल्ला गरी भानुचोक आसपासमा कुदिरहने पाइएकोले रक्सीले छोडुन्जेल समातेका हौं’, उनले भने, ‘रक्सीले छोडेपछि छोडिदिऔं ।’
धरान प्रहरीले मास्क नलगाइ हिँड्नेलाई सम्झाइबुझाइ मास्क लगाउन समेत भन्दै आएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले जोरबिजोर प्रणालीमा सवारी साधन सञ्चालन गर्न दिने भनेको छ । धरानका बजार पसलहरू अहिले खुल्ला छैनन् । बिहान ११ बजेसम्म पसल सञ्चालन भएको र बन्द समेत भइसकेको छ ।

