विराटनगरः मोरङ रतुवामाई नगरपालिका ९ स्थित आमबारी-उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजना मृत्यु र २ जना घाइते भएका छन् ।
आइतबार बिहान साढे १० बजे उत्तरतर्फ जाँदै गरेको प्र.१–०२–०४१ प. २६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको प्र.१–०२–०४४प२६०९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
सो दुर्घटनामा गम्भीर घाइते भएका २६६४ नम्बरको मोटरसाइकल चालक रतुवामाई नगरपालिका–७ गडीझारका २७ वर्षीय ललित कट्वालको अरनिको अस्पताल उर्लाबारीमा बिहान पौने ११ बजे उपचारको क्रममा मृत्यु भएको छ भने अर्को २६०९ नम्बरको मोटरसाइकल चालक रंगेली नगरपालिका ५ का २१ वर्षीय मनजय ठाकुर र सोही मोटरसाइकलमा पछाडि सवार बेलबारी नगरपालिका ३ का ३० वर्षीय नविन ठाकुर घाइते भई सोही अस्पतालमा नै उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।