धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले अबदेखि कोरोनाका बिरामीलाई अक्सिजनको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
धरानका मेयर तिलक राई, प्रतिष्ठानका पदाधिकारी, प्रशासन प्रमुख, राजनीतिक दल सम्मिलित छलफलमा प्रतिष्ठानका पदाधिकारीहरुले सो प्रतिबद्धता जनाएका हुन् । प्रतिष्ठानमा भइरहेका कार्यहरु र गर्नुपर्ने सुधारको बारेमा प्रतिष्ठानको पधिकारीहरुसँग छलफल आयोजना भएको मेयर तिलक राईले जानकारी दिएका छन् । कोभिड अस्पतालको बारेमा व्यापकरुपमा जनगुनासो आएपछि यसको समस्या समाधान गर्नका लागि छलफल चलेको मेयर राईले जानकारी दिए ।
‘खासमा प्रतिष्ठानको कोभिड अस्पताललाई सुधारौं भन्नेबारेमा छलफल केन्द्रित थियो’, उनले भने, ‘प्रतिष्ठानका पदाधिकारीहरुले विशेषतः कोभिडका बिरामीलाई अक्सिजनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ ।’
विगतमा कमी कमजोरीहरु रहेको बताउँदै अहिले सुधारिँदै आएको प्रतिष्ठानले अब अक्सिजनको कमी हुन नदिने, कोभिडका बिरामीलाई राम्रोसँग हेरचाह र उपचार गर्ने व्यवस्था गर्न खोजिएको प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशंकर शाहले जानकारी दिए । हाल पनि प्रतिष्ठानमा अक्सिजन पर्याप्त रहेको उनले दावी गरे । ‘अहिले पनि खासै समस्या छैन तर पछिका लागि पनि कमी हुन नदिन हरसम्भव लागिरहेका छौं, अक्सिजनको पटक्कै कमी हुँदैन ।’ अक्सिजन व्यवस्थापन गर्नका लागि व्यापकरुपमा छलफल भइरहेको उनले जानकारी दिए । ‘अहिले त छँदैछ तर पछि संक्रमित थपिँदै जाँदा के गर्ने, कसो गर्ने भन्नेबारेमा हामीले सोंचिसकेका छौं, त्यसको लागि हामी निरन्तर छलफलमै छौं । अक्सिजनको कमी हुन दिँदैनौं ।’

अस्पतालमा बेड वृद्धि, कर्मचारी नियुक्ति गर्नुपर्ने कुरामा अस्पतालले पूर्वतयारी थालेको उनले बताए । ‘यदि बेलैमा सोचिएन भने भोलिको दिनमा भयावह स्थिति आउन सक्छ, त्यसका लागि जुटिसकेका छौं ।’ बिरामीको बारेमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने अस्पताल निर्देशक शाह बताउँछन् ।
धरानमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको कारण यस्तो छलफल चलेको हो । छलफलमा इलाका प्रशासन प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, प्रतिष्ठानका उपकुलपति, अस्पताल निर्देशक र रेक्टरको उपस्थिति रहेको थियो ।
कोभिडलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय सरकार, केन्द्रीय सरकार, प्रदेश सरकार, राजनीतिक दल र नागरिक सबै लाग्नुपर्नेमा अधिकांशको जोड थियो । तत्काल कोभिडको लागि आवश्यक पूर्वाधारहरु व्यवस्थापन गर्न सक्यो भने केही मात्रामा रोकथाम तथा नियन्त्रण गर्न सहज हुने अधिकांशले बताए । कार्यक्रममा प्रतिष्ठानले अस्पतालमा भएका समस्याहरुको बारेमा स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक रहेको जनाइयो ।
हाल कोभिड अस्पताल सय बेड क्षमताको रहेको छ । कोभिड अस्पतालमा हाल २४ वटा भेन्टिलेटर रहेको छ । प्रत्येक भेन्टिलेटरमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड अस्पताल र नन कोभिड अस्पताल पनि चलाइरहेको प्रतिष्ठानको लागि यो अहिले चुनौती नै छ । त्यसका लागि प्रतिष्ठानले बेलैमा अक्सिजनको कमी हुन नदिन र पूर्वाधार थपेर अगाडि बढ्नुको विकल्प छैन ।