Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरद्वारा शोकविदा

हाम्रो कोशी आवाज
बैशाख २३ २०७८, बिहिबार
धरान उपमहानगरद्वारा शोकविदा

धरानः धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ ।
धरान वडा नं.१४ निवासी पूर्व प्रधानपञ्च एवं समाजसेवी इन्द्रप्रसाद श्रेष्ठको निधनमा उपमहानगरपालिकाले बिहीबार (आज) शोकविदा दिएको हो ।
श्रेष्ठको हिजो बुधबार उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो । श्रेष्ठको ८० वर्षको उमेरमा हिजो निधन भएको हो । उहाँको श्रीमतीको दश दिन अघिमात्र निधन भएको थियो । श्रीमतीको उपचारका लागि काठमाण्डौं गएका श्रेष्ठको स्वास्थ्य परीक्षणको क्रममा ट्युमर देखिएको थियो । ट्युमरको उपचारकै क्रममा उनको निधन भएको थियो । पछिल्लो समय उनी राजनीतिबाट अलग रही धरानमा बस्दै आएका थिए ।
श्रेष्ठ महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व प्राध्यापक पनि हुन् भने हाल नेपाली कांग्रेस सुनसरीका सल्लाहकार थिए । श्रेष्ठकै अध्यक्षतामा कोरोना महामारीको (बन्दाबन्दीको बेला) समयमा धरानका सडक आश्रित मानिसहरुलाई धरान–८ स्थित लाङ्घाली सामुदायिक वनको भवनमा तीन महिनासम्म निःशुल्क खाना समेत खुवाइएको थियो ।
उनको निधनमा आज धरान उपमहानगरपाले शोक विदा दिने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । उनका अनुसार आजका दिन नगर कार्यपालिकाको कार्यालय साथै माताहतका कार्यालयहरु (अत्यावश्यक सेवा बाहेक) शोक विदा दिएको हो ।
अग्रज पत्रकार हर्ष सुब्बा लेख्छन्– तत्कालीन धरान नगर पञ्चायतका प्रधानपञ्च उनले आजभन्दा ४४ वर्षअघि धरानमा खानेपानीको समस्याको समाधानका लागि सर्दु–खर्दु खोलाको मुहान क्षेत्रलाई राजा वीरेन्द्रबाट जलाधार क्षेत्र घोषणा गराउन सफल भएका थिए । अहिले एडिबीको डेढ अर्ब बढीको ऋण–सहयोगमा भूमिगत शहरी खानेपानी आयोजना पूरा भएपनि सो जलाधार ५० प्रतिशत खानेपानीको स्रोतको रुपमा रहेको छ ।
२०३३ सालमा राजा वीरेन्द्र पूर्वाञ्चल विकास क्षेत्र भ्रमणको क्रममा धरान नगर पञ्चायतमा सवारी भएका थिए । सोही अवसरमा प्रधानपञ्च श्रेष्ठले धरानको खानेपानीको श्रोतलाई स्थायी बनाउन जलाधार क्षेत्र घोषणा गर्न विन्तीपत्र चढाएका थिए । राजाको हुकुम अनुसार तत्कालीन सरकारले धनकुटाको भेडेटार दक्षिण, विष्णुपादुका र पाँचकन्या गाबिसको क्षेत्र समेटिएको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित मिति: बैशाख २३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend