धरानः निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो ।
उद्योगी र थोक व्यापारीले खानेतेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा उपभोक्ता महँगीको मारमा परेका छन् । अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मौन बसेको उपभोक्ताको गुनासो छ ।
बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सिर्जना भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरेका हुन् ।
उनीहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरी महँगो मूल्यमा बेचेको सरोकारवालाहरूले जानकारी दिएका छन् । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार खाने तेलको मूल्यमा लगातार वृद्धि भइरहेको छ ।
खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै ठूला व्यापारीहरूले अस्वाभाविक रूपमा मूल्य बढाएको जानकारी दिए । तेलको कारोबार गर्ने ठूला व्यापारी, बिचौलिया र उद्योगीहरूको मिलेमत्तोमा बजारमा तेलको कृत्रिम अभाव भइरहेको उनको दाबी छ ।