धरानः सुनसरी उद्योग वाणिज्य संघले धरानमा मूल्यवृद्धि भयो भनेर ब्यापक जनगुनासो आउन थालेको भन्दै मूल्यवृद्धि नगरिदिन आग्रह गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै व्यवसायीलाई आग्रह गरिएको हो । ‘अत्यावश्यकीय खाद्य सामग्रीको मूल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासो छ’, विज्ञप्तिमा भनिएको छ, अनावश्यक मूल्यवृद्धि नगरी सुपथ मूल्यमा सामग्री बिक्री वितरण गरी सामाजिक दायित्व पूरा गर्न आग्रह गर्दछौं ।’
अध्यक्ष गिरीधारी सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपभोक्ताको स्वास्थ्यको पनि ख्याल गर्दै आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चीति नगरिदिन हुन अनुरोध गर्दछौं भनिएको छ । ‘अस्पतालहरु भरिँदै गएका छन्, विशेषगरी संक्रमितको जीवनरक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ, तसर्थ यस विषम अवस्थालाई मनन गरी सम्पूर्ण ग्याँस उत्पादक कम्पनीहरुलाई स्वास्थ्यउपचार प्रयोजनका लागि मात्र अक्सिजनको सिलिण्डर उपलब्ध गराउन अपील गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
संघले मूल्यअभिवृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम करकट्टीलगायतका करहरुको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको समय थपिनुपर्ने माग गरिएको छ । संघले बैंक कर्जाको ब्याजदरमा छुट तथा बैंकमा किस्ता बुझाउन समय थप, उद्योग व्यवसाय सञ्चालन रहेको घरभाडा छुट, निषेधाज्ञा अवधिको विद्युत शुल्क छुट गरिदिन हुन पनि आग्रह गरेको छ ।
