धरानः खोटाङ जन्तेढुंगा गाउँपालिका–५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ वर्षीय गोकुल परियारको मृत्यु भएको छ ।
उनको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै थियो । उनको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट घाइते हुनेमा टेम्पु चालक जेन्तेढुंगा–४ का ३३ वर्षीय जीवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जन्तेढुंगा–५ का १६ वर्षीय मणिराम राई, सोही स्थानका ६५ वर्षीय रत्नबहादुर राई रहेका छन् ।
घाइतेमध्ये मणिराम राईको अवस्था सामान्य रहेकोले स्थानीय स्वास्थ्य केन्द्रमानै उपचार भइरहेको र धरान ल्याइएको प्रहरीले जनाएको छ ।
घोर्लेबाट बिरामी बोकी चिसापानी आउने क्रममा लु.१ स. ०३५० नम्बरको अटोटेम्पो तारेभीरबाट अन्दाजी ५०० मिटर तल खसेको हो । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली खटी गई घाइतेहरुलाई उद्धार गरी उपचारको लागि घोपा धरानतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
यता मोरङ रंगेली–५ आँपगाछीका रमेश मण्डलको धान खेतमा बोरिङको पानी जमेको खाल्डोमा डुबेको अवस्थामा एकजना महिला मृत अवस्थामा फेला परेकी छिन् । मंगलबार बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय रंगेलीमा खबर प्राप्त भए पश्चात प्रहरी टोली खटिगई बुझ्दा सोही स्थान बस्ने ५५ वर्षीय पारु देवी ऋषिदेव रहेको खुलेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
ओखलढुङगा मोलुङ गाउँपालिका–५ लिस्पुका ६५ वर्षीय युवराज नेपालको घाँस काट्न गएको अवस्थामा लडेर मृत्यु भएको छ । मंगलबार बिहान ६ बजे उनी घरबाट गढी जंगलमा घास काट्न गएकोमा अबेर सम्म पनि घर फर्केर नआएपछि परिवारले खोजतालस गर्दै जाँदा बाटोदेखि अन्दाजी २५ मिटर तर लडी घाइते अवस्थामा फेला पारेका थिए । घाइतेको घरमा ल्याई उपचारको लागि लैजाने तयारी गर्दै गर्दा दिनको ३ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटी गई बुझ्ने कार्य भइरहेको छ ।
यस्तै, इलाम नगरपालिका ११ बस्ने ८० वर्षीय बृद्ध गन्जमान खातीको पानी खान जाने क्रममा लडेर मृत्यु भएको छ । मंगलबार दिनको २ बजे उनी घर नजिकै रहेको पानीको मुहानमा पानी खान जाने क्रममा लडेर मृत्यु भएको जानकारी प्रहरीलाई गराउन साथ प्रहरी टोली खटि गई अनुसन्धान भइरहेको छ ।