धरानः नमस्कार सम्पूर्ण धरान नगरवासीहरुमा । आज म खत्रीधारा अवस्थित अग्नी दाहसंस्कारस्थलमा भएको विवाद सम्बन्धी केही कुरा लेखिरहेको छु ।
अहिलेको यो कोरोनाको भयावह स्थितिमा दिनदिनै कोरोना संक्रमितको मृत्युदर बढिरहेको छ । यस्तो अवस्थामा नेपाल सरकारले पनि आफैले व्यवस्थापन गर्न नसकेर परिवारलाई नै मृतकको व्यवस्थापन गर्न जिम्मा दिने निर्णय गरि सकेको छ ।
धरानमा हिन्दूहरुको एक मात्र दाहसंस्कारस्थल खत्री धारामा कोरोना संक्रमितहरुको शव दाहसंस्कार गर्न नपाईने भनेर त्यहाँ आसपासका स्थानीयले विरोध गरेर दाहसंस्कार गर्न नपाउने अवस्था आएको छ । अस्ति भर्खर धरानका एकजना मृतकलाई खत्रीधार धरानमा दाहसंस्कार गर्न नदिएपछि उसका आफन्तहरुले चतरा अनि इटहरीमा पनि कोसिस गर्दापनि दाहसंस्कार गर्नको लागि अनुमति प्राप्त गर्न सकेनन् र ती मृतकलाई विराटनगरको सिङ्गीया खोलामा लगेर दाहासंस्कार गरियो ।
के हाम्रो समाजिक संस्कार यही हो ? आफ्नो थातथलोमा पनि आफन्तको दाहसंस्कार गर्न नपाउनु ? सरकारले तोकेको स्वस्थ्यमापदण्ड अपनाएर दाहसंस्कार गर्दा पनि के समस्या ? अहिलेको भयावह अवस्था हेर्दा भोली यो समस्या सबैलाई पर्न सकिँदैन भन्न सकिन्नँ, त्यो बेला हामीले के गर्ने शव बोकेर छिमेकी नगरपालिकाहरु चाहर्ने ? शव बोकेर कहाँ कहाँ भौतारिने ?
परापूर्वकालदेखि चलिआएको धरानको दाहसंस्कारस्थलमा यहाँका स्थानीयले दाहसंस्कार गर्नु पाउनु हाम्रो अधिकार हो । तसर्थ खत्रीधारामा स्वस्थ्य मापदण्ड अपनाएर हामिले दाहसंस्कार गर्न पाउनुपर्छ यो हाम्रो माग हो । जहाँ मानवको बसोबास हुन्छ, त्यही दाहसंस्कारस्थल पनि हुन्छ । झन यस्तो संकटकालको बेलामा सहयोग र सदभावको भावना राख्नुपर्ने हाम्रो समाजको मानसिकता कतातिर जाँदैछ ? यो नकारात्मक मानसिकताले धरानको भविष्यलाई कतातिर लान्छ ?
यस्तो मानसिकता नबोकौं । आपतविपत पर्दा सहयोग गर्ने धराने किन यति साह्रो भड्किए ? यसो भइराखे यहाँ भएकाहरु पनि पलायन हुन्छन् । त्यसैले हामी सबै सचेत रहौं । यस्ता गलत मानसिकतालाई हामी फस्टाउन नदिऔं । समयमा नै यस्ता कुराको हामीले मिलेर विरोध गरेनौं भने भोलि यस्तै यस्तै मानसिकता वृद्धि हुँदै जानेछ । खत्रीधाराको विकल्प खोज्ने हो भने धरानमा भएका प्रायः सबै दाहसंस्कार स्थलहरु मानव वस्तीकै निकट छन् । उनीहरुको पनि विकल्प खोजिनुपर्छ । कोभिड हस्पिटल र अन्य हस्पिटलहरु पनि मानव वस्तीहरुको बीचमा नै छन्, तिनीहरुको पनि विकल्प खोजिनुपर्छ ।
भन्ने नै हो भने पशुपति आर्यघाटमा भएको दाहसंस्कारस्थलको पनि विकल्प खोजिनुपर्छ । यस्ता दरिद्र र संकुचित मानसिकताको हामी सबै मिलेर विरोध किन गर्दैनौं । जन्म, मृत्यु र हाम्रो जीवनको हरेक संस्कार, परम्परा, संस्कृति हाम्रो जन्मसिद्ध अधिकार हो । हामीले मिलेर हाम्रो खत्रीधारा दाहसंस्कारस्थलमा हाम्रो आफन्त र समाजका व्यक्तिको दाहसंस्कार गर्न पाउनुपर्छ । नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दाहसंस्कार गर्दा कसैले विरोध गर्छ भने त्यसको हामी खुलेर विरोध गरौं । यो कुरामा हामी धरानबासी एकजुट हुन किन ढिला गर्ने ?