धरानः लकडाउनले चकमन्नझैं शनिबार साँझको भानुचोक । वरिपरी कागको मात्रै आवाज । केही खाद्यान्न बोकेका सवारी साधनमात्रै सञ्चालित छ । भानुचोक दक्षिणमा प्रहरी बिट । भानुचोकको लोकतान्त्रिक चौतारीमुनि खाना पकाएर खान्छन् यी ६ भाइ । लोकतान्त्रिक चौतारी नै उनीहरुको सहारा बनेको छ । लोकतान्त्रिक चौतारीमुनि खाना पकायो र त्यही चौतारीमै सुतेर रात कटायो । नेताहरुले भाषण गरिरहने ठाउँ, लोकतन्त्र आउँदादेखि नै यो ठाउँको नाम लोकतान्त्रिक चौतारी राखिएको हो ।
रङ्गको भाँडो पनि भेट्टाएको भन्छन् तिनीहरु । त्यसैमा पाक्छ खाना । तरकारी पकाउनको लागि थाल छेऊमै छ । थालमै पाक्छ तरकारी । चामलचाहिँ राम्रै थियो, तरकारी आलुमात्रै । त्यो पनि उनीहरुले मागेर ल्याएको रे । आज मुस्किलले भात पाकेको छ । धेरैदिनपछि उनीहरुले आज खाना पकाएर खान पाएका छन् । खाना नपाकेको दिन चाउचाउले रात काट्छन् । छेऊमा कुकुर पनि छ । कुकुरले उनीहरुको रेखदेख गर्छ रे । फोटो खिच्दै गर्दा कुकुर भुक्यो पनि ।
‘लकडाउनले खत्तम बनायो, धेरैदिन भोकै बसेपछि आज खाना खान पाएका छौं, मागेर खान पनि पाइएन, धरानमा रहेका अन्य घरका मान्छेले पटक्कै छिर्न दिँदैनन्, आज एकजना आन्टीले माया लागेर मन्दिरमा चामल दिनुभएको हो, त्यही पकाएर खान तयारी गर्दैछौं’, खाना पकाउँदै गरेका विशाल राईले भने, ‘भोलि के खाने हो चिन्ता छँदैछ ।’
धेरैदिनपछि उनीहरुले एकछाक मात्रै खाना खान पाएको बताए । ‘लकडाउन छ, कसैले केही दिँदैन’, भेटिएका राजन घिमिरेले दुखेसो पोखे, ‘अहिले त पानी माग्दा समेत दिँदैनन्, एकबोरा चामल ल्याइदिनुहोस् न ल दाइ हामीलाई लकडाउनभरी पुग्छ ।’
करिब आधा घण्टापछि खाना पनि तयार भयो । त्यसपछि १५ मिनेटमा आलुको तरकारी भुटे । विशालले खाना पस्किए । साना बालकलाई शुरुमा खाना बाँडियो । त्यसपछि मात्रै ठूलाको पालो आयो । साना ठूला सबैले आनन्द मान्दै खाना खाए ।
चामल भेटेको बेला जहिल्यै यसरी नै सडकमै खाना पकाउँदै खाँदै आएको उनीहरुले सुनाए । ‘अब भोलिचाहिँ तपाईले चामल ल्याइदिनुहुन्छ होला नि है’, विशालले हिँड्ने बेलामा तीनचोटी बोलिरहे ।
उनीहरुलाई लकडाउन भएपछि लाग्दो रहेछ–कसैले लगिदिएपनि पेटभरी खान पाइन्थ्यो । यसअघि सरकारले उठाएर लगेको बारे पनि उनीहरु जानकार नै छन् । उनीहरुले केटीमान्छेलाई मात्रै उठाएर लगेको आरोप पनि लगाए । ‘यसअघिको लकडाउनमा त क्वारेन्टाइमा राखेको थियो, त्यतिबेला पेटभरी खान पाएका थियौं’, राजनले कुरा ओकले, ‘यसपटक त लकडाउन भएपनि कसैले कसलाई लगेको छैन, केटी मान्छेलाई मात्रै उठाएर लगेको बुझेका छौं, पेटभरी खान नपाएको पनि धेरैदिन भइसक्यो ।’
उनीहरुमध्ये विशाल खाँदबारीदेखि धरान झरेका रहेछन् । उनलाई घर जान पाएपनि हुन्थ्यो भन्ने लागिरहन्छ रे ।कसैले घर पुरयाइदिए जाने बताए, कसैले काम गरिखान दिए गरेर खाने पनि प्रतिबद्धता जनाए । ‘अहिले धेरै दुःख पाइयो, म त घर पुरयाइदिएपनि जान्थें’, विशालले प्रश्न गरे, ‘तर लकडाउन छ कसरी घर जाने होला ?’
धरानमा कहिल्यै निमिट्यान्नै हुन सकेनन् सडक मानव
धरानमा कहिल्यै निमिटयान्नै हुन सकेका छैनन् सडक मानव । अघिल्लो वर्ष सरकारले ३१ बालबालिकाको उद्धार गरेको थियो तर त्यसपछि पनि भानुचोकमा सडक बालबालिका र सडक मानव देखिने क्रम रोकिएको छ । सडक बालबालिकाको उद्धारका लागि त्यतिबेलाका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, सरकारका सचिव चन्द्र घिमिरेसहित बालबालिका खोजतलास समन्वय केन्द्रका कर्मचारी र नेपाल प्रहरीको टोली धरान आएको थियो । उनीहरुले ३१ सडक मानवको उद्दार त गरयो तर पनि समस्याको समाधान हुन सकेको छैन । त्यसपछि धरान उपमहानगरपालिकाले पनि पटक–पटक सडक बालबालिका र मानवको उद्दार गरेपनि अहिले सम्भव हुनसकेको छैन ।
बालबालिकासँग सम्बन्धित अर्को एउटा अदृश्य र अमूर्त पाटो पनि छ, जसका बारेमा हामी विचारै गरिरहेका हुदैनौं । त्रासको बेला बालबालिकामा भयवित हुन्छन् । उनीहरूलाई अभिभावकले प्रेमका साथ भरोसा दिलाउनुपर्ने हुन्छ । आड दिनुपर्छ । तर, यस्ता बालबालिकाको हकमा भने न त्रास न भरोसा अनि आड । उनीहरुलाई एउटै कुराले पिरोल्छ– भोलि कसरी खाने ?
सरकार सुँगा रटानझैं रटिरहन्छ- कोही भोकै बस्नुपर्दैन । ती बोलेका शब्द अहिले पनि छन्- खाना खान नपाएरै कसैको ज्यान जाने अवस्थाको अब अन्त्य गरेका छौं । खानेकुराको अभावमा बालबालिकाले सडकमा हात थाप्दै हिँड्नुपर्ने अवस्था अन्त्य गरेर उनीहरुको उचित व्यवस्थापन गर्छौं । कोही कसैले खानेकुरा नपाएर भोकै बस्नुपर्ने अवस्था आए राज्यको सम्बन्धित निकायसम्म खबर गरिदिनुहोस् ।
आज अवस्था प्रतिकुल हुँदा र देशै ठप्प जस्तो भइरहँदा यी घरविहीन, परिवारविहीन, अभिभावकविहीन र आश्रयबिहीन बालबालिकाका बारेमा अब कसले सोच्ला ?
तस्वीरहरुः हाम्रो कोशी आवाज
सुनसान भानुचोक र भानुचोकमा खाना बनाउँदै बालक ।



तरकारी बनाउँदै बालक ।








खाना तयार भएपछि खाना खान तयार हुँदै र खाना खाँदै गरेका सडक मानव ।













