विराटनगरः बिरामी आफन्तलाई हेर्न आउने क्रममा मोरङमा स्कारपिओ दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
बिरामी आफन्तलाई हेर्न आउने क्रममा पाँचजना सवार मे१च १८५१ नम्बरको स्कोरपिओ पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा बिहीबार राति १२ः१५ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सोही दिशाबाट आउँदै गरेको ना२ख ९४७३ नम्बरको मालवाहक ट्रकले सो सवारीलाई ठक्कर दिएको थियो ।
प्रदेश १ ट्राफिक कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जीव शर्माका अनुसार झापाको झापा गाउँपालिकाबाट बिरामी आफन्त हेर्नका लागि मोरङको कानेपोखरी आउने क्रममा सो सवारी दुर्घटनामा परेको हो ।
दुर्घटनामा झापा गाँउपालिका ५ का ५३ वर्षीय लक्ष्मीप्रसाद पौडेल र मोरङ रंगेली नगरपालिका रञ्जनीकी ७६ वर्षीया विष्णुमाया शिवाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कोरपिओ चालक झापा विर्तामोड नगरपालिका–२ चारपानेका ३३ वर्षीय विकास उप्रेती, झापा गाउँपालिका–२ की ४५ वर्षीया विनिता पौडेल र झापा हल्दीबारी गाउँपालिका–५ का २५ वर्षीय रोशन उप्रेती घाइते भएका छन् । उनीहरुको उपचार विराटनगरस्थित गोल्डेन अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
आफन्त बिरामी हेर्नका लागि ससुरा लक्ष्मीप्रसाद र बुढीसासु विष्णुमायासहित परिवार सदस्यलाई राखेर विकासले स्कर्पियो चलाएका थिए । घाइते विनीता लक्ष्मीप्रसादकी श्रीमति हुन् ।
प्रहरीका अनुसार कानेपोखरी गाउँपालिकामा रहेका विकासका सानो बुबा ससुरा गम्भीर बिरामी थिए । उनैको स्वास्थ्य अवस्था बुझ्नका लागि परिवार झापाबाट आइरहेको थियो ।
भीरबाट लडेर दुईजनाको मृत्यु
उता सोलुखुम्बु र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुईजनाको मृत्यु भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ का २८ वर्षीय सीताराम बस्नेतको स्थानीय उत्तिसे भिरबाट लडेर मृत्यु भएको हो ।
बुधवार दिउँसो गाई बस्तु चराउन गएका केही स्थानीयहरुले बस्नेतलाई भिर मुनी मृत अवस्थामा देखी प्रहरीलाई खबर गरेसँगै ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
यसैगरी उदयपुरको कटारी नगरपालिका–८ मरुवाखानी बस्ने २९ वर्षीया गीता विकको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । बुधवार साँझ ६ बजेको समयमा मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा अचानक भीरबाट लड्दा विकको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।
बेलिब्रिज बनाउने क्रममा कामदारको मृत्यु
ताप्लेजुङको तमोर करिडोरअन्तर्गत फक्ताङलुङ गाउँपालिका–६ रानीपुलस्थितमा नवनिर्मित बेलिब्रिज बनाउने क्रममा १ जना कामदारको मृत्यु भएको छ ।
बुधबार अपराह्न ५ बजेको समयमा काम गरिरहेको अवस्थामा अचानक चिप्लिएर लडेको र सोही क्रममा पुल लगाउन राखिएको फलाम समेतले किच्दा बारा सिमराका २६ वर्षीय श्यामसुन्दर चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी टोली खटि गइ थप अनुसन्धान गरिरहेको छ ।
मृत फेला
यस्तै, पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ का ५८ वर्षीय पदम ध्वज नेम्वाङ स्थानीय निबु खोलाको दोभानमा मृत फेला परेका छन् ।
नेम्वाङ बुधबार राति ९ बजेको समयमा निबुखोलाको दोभानमा पानीमा डुवेर मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रक्रिया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।