धरानः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमालेभित्रै बसेर विधि, विधान सिकाउने ब्वाँसोहरुको मखुण्डो आजदेखि उदाङ्गो भएको प्रतिक्रिया जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले सो प्रतिक्रिया जनाएका हुन् । वाग्मती प्रदेशको उपनिर्वाचनमा बिहीबार एमालेको तर्फबाट उम्मेदवार बनेका रामबहादुर थापा बादललाई एकालेकै सूर्य चिन्हबाट निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुले हराएकोप्रति आक्रोस व्यक्त गर्दै मुख्यमन्त्री राईले पार्टीभित्रै बसेर भाँडभैलो मच्चाउँदै पार्टीभित्रै ब्वाँसोको निया बोकेर नाटकीय मञ्चनमा व्यस्त रहेका नेताहरुको मखुण्डो आजबाट उघ्रिएको बताएका छन् ।
उनले आजको उपनिर्वाचनमा माधवकुमार नेपाल पक्षले आफ्नो पार्टीको आधिकारीक सूर्य चिन्हबाट उम्मेदवारलाई मतदान नगरी स्वतन्त्र कलम चिन्ह लिई उम्मेदवार बनेका डा. खिमलाल देवकोटालाई मतदान गरी जिताएको भन्दै आक्रोश पोखेका छन् ।
आजसम्म पार्टीलाई एकताबद्ध बनाउने बहानामा गुटवन्दी गरिरहेकोमात्र नभई पार्टीलाई तहसनहस बनाउने कार्यमा तल्लिन रहेकाहरुलाई चिन्दै भ्रम तोडिएको बताउँदै उनले आज भएको घटना संसदीय अभ्यास र प्रणाली, दलीय व्यवस्था र दलीय विधी विधानको नाङ्गो उपहास भएको बताएका छन् । उनले यसमा कसैले आँखा चिम्लन र कुरा चपाएर बोल्न नमिल्ने समेत आक्रोश जनाए । ‘जे होस् नेकपा (एमाले) एक्लै लोकप्रिय र शक्तिशाली छ, आजको परिणाम र तथ्यले त्यही बतायो, देखायो’, उनले भनेका छन्, ‘असली कम्युनिष्ट, नकावधारी कम्युनिष्ट र दक्षिणपन्थी लगायत सबैखाले शक्तिहरुको वास्तविक अनुहार, उनीहरुको हैसियत जनताले आगामी दिनहरुमा छुट्टयाउँदै जानेछन्, गठबन्धनका बाबजुद नेकपा (एमाले) एक्लै बलियो छ भन्ने कुरा आज स्पष्ट भएको छ ।’
