विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका–३ का ४० वर्षीय बिष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ वर्षीय पुजन राई पक्राउ परेका छन् ।
शुक्रबार बिहान ६ बजेको समयमा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा मृत रहेको भन्ने जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सो हत्याको घटनामा राईको संग्लग्नता रहेको पाएसँगै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका राईले धारिलो हतियार बामफोकले घाँटीमा प्रहार गरी ऋषिदेवको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
हत्या भएको खबर प्राप्त गरेर प्रहरी घटनास्थल पुग्दा घरभित्र खाटमा लडिरहेको शव भेटिएको थियो । पूरै शरीर कपडाविहीन रहेका मृतकले कम्मरमुनि कट्टु भने लगाएका थिए ।
गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रो घरमा विष्णु एक्लै बस्थे । उनकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका विष्णु दैनिक बिहानै उठेर काममा जाने गरेका थिए । ढिलोसम्म पनि उनी काममा ननिस्किएपछि बोलाउन गएका साथीहरुले घरभित्रै खाटमा लगाएको ओछ्यानमा हत्या गरिएको अवस्थामा शव देखेर प्रहरीलाई खवर गरेका थिए ।