Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा अक्सिजनमै खेलाँची !

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०७८, शनिबार
धरानको बीपी प्रतिष्ठानमा अक्सिजनमै खेलाँची !

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्टमा समस्या आएको छ ।
प्रतिष्ठानले अक्सिजनको अभाव देखाउँदै नयाँ बिरामी भर्ना नलिने समेत जनाएको छ । प्रतिष्ठानका सहायक प्रवक्ता डा. चुरामणी पोख्रेलले प्रेस विज्ञप्ति जारी गरी अक्सिनको उपलब्धताका आधारमा मात्र बिरामी भर्ना लिने निर्णय भएको जानकारी दिएका छन् । उनले आफैं अक्सिजन सिलिण्डरको जोहो गरेर आउन पनि भनेका छन् । ‘जो अक्सिजन सिलिण्डरको जोहो गरेर आउँछ, उसलाई मात्रै भर्ना लिनेछौं ।’ उनले भनेका छन् ।
प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रिएको र अहिले मर्मतको कार्य चलिरहेको जनाउँदै उनले नयाँ बिरामी भर्ना गर्न अक्सिजनको उपलब्धताका आधारमा मात्र सक्ने जनाएका छन् । ‘हालै आएर प्लान्टमा प्राविधिक समस्याका कारण अक्सिजनको पर्याप्त उत्पादन हुन नसक्दा बिरामी उपचारमा चाहिने अक्सिजन, अक्सिजन उत्पादक कम्पनीहरुबाट सिलिण्डर भरेर आपूर्ति गर्ने व्यवस्थापन गर्न बाध्यात्मक परिस्थिति सिर्जना भएको छ’, जारी सूचनामा भनिएको छ, ‘प्लान्टको दक्ष इन्जिनियरहरुले मर्मत गर्ने कार्य गरिरहेको र पूर्ण क्षमतामा सञ्चालनमा नआएसम्म अस्पतालमा भर्ना गरिएका बिरामीहरुको उपचारमा अक्सिजनको कमी नहोस् भनेर नयाँ बिरामी भर्ना गर्ने हकममा अक्सिजनको सिलिण्डरको उपलब्धताको आधारमा भर्ना लिई उपचार गरिने व्यहोरा जानकारी गराउँछौं ।’
कोरोना संक्रमणको दर उच्च भइरहेको बेला प्रतिष्ठान अक्सिजन अभावले कोभिड अस्पतालमा बिरामी भर्ना गर्न पनि छोडेको बताइएको छ ।
प्रतिष्ठानको अक्सिजन प्लान्टमा बिहीबारदेखि समस्या आएको जनाइएको छ । बिरामी भर्ना पूर्णरुपमा बन्द गरिएको नभई प्लान्ट पूर्ण क्षमतामा नचलेसम्म सिलिण्डरले थेग्न सक्ने जति मात्र बिरामी उपचार गर्नुपर्ने बाध्यात्मक रहीआएको उनले जानकारी दिए । ‘बिरामी भर्ना नलिने नै होइन’, उनले भने, ‘तर प्लान्ट पूर्णक्षमतामा नचलेसम्म सिलिण्डरले जति थेग्न सक्छ, त्यति नै मात्र उपचार गर्छौं ।’
सरकारको मापदण्डअनुसार प्रतिष्ठानमा १ सय बेड क्षमताको कोभिड अस्पताल छ भने १५ वडा आइसियु, २५ वटा एचडियुसहितको सय बेड क्षमता छ ।
प्रतिमिनेट १६ लिटर उत्पादन क्षमता रहेको प्रतिष्ठानको अक्सिजन प्लान्ट दुई दिनअघिदेखि बिग्रिएको उनले जानकारी दिए ।
उता प्रतिष्ठानको जिम्मेवार पदाधिकारीकै मिलेमतोमा कमसल सामग्री प्रयोग हुँदा यस्तो समस्या आएको भन्दै चर्को आलोचना समेत हुन थालेको छ । ‘खासमा भन्ने हो भने प्रतिष्ठानलाई मिलेमतोमा काम नगरी नहुने खालको बनाइसकेका छन्’, एक कर्मचारी भन्छन्, ‘यसले गर्दा पनि कमसल सामग्री प्रयोग हुने र जेमा पनि समस्या आउन थालेको छ ।’
प्रतिष्ठानमा भर्ना लिएपनि अक्सिजन नहुँदा धेरै बिरामीले ज्यान गुमाउनुपरेको अवस्था छ । ‘प्रतिष्ठानमा बेड नपाएर होइन, बेड हुने तर अक्सिजन नपाउँदा नै म विराटनगर पुगेर उपचार गरी फर्केको छु’, एक बिरामी नाम नछाप्ने शर्तमा भन्छन्, ‘बीपी प्रतिष्ठानको यो हदसम्मको लापरवाही र खेलाँची कहिलेसम्म हो ?’

प्रतिष्ठानले जारी गरेको बिनाहस्ताक्षरको सूचना ।

प्रकाशित मिति: जेष्ठ ८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend