संखुवासभाः सिलिचोङ गाउँपलिका– ५ याफुमा जंगली च्याउ खाएर बिरामी भएकी एक बालिकाको मृत्यु भएको छ ।
उनको सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको आफन्त धीरज राईले जानकारी दिएका छन् । गत शुक्रबार जंगलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ– ५ का एकै घरका ९ जना गम्भीर बिरामी भएका थिए ।
च्याउ खाने सबैको किड्नी र कलेजोमा गम्भीर समस्या देखिएपछि सात जनाको बीपी प्रतिष्ठान धरानमा उपचार भइरहेको थियो ।
गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुईघरका नौ जना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए ।
जङ्गली च्याउ खाँदा बिरामी परेका नौ मध्ये आठजनाको अवस्था गम्भीर भएको र धरान रेफर गरिएको बताए । जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका नौ जना बिरामी परेका थिए ।
त्यस्तै बिरामी पर्नेमा उनका छोरा महेन्द्र, वीरेन्द्र, सहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नातिसमेत थिए । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बान्ता हुन थालेपछि शुक्रबार याफु आधारभूत स्वास्थ्य सेवा एकाइमा भर्ना गरिएको वडाध्यक्ष कुलुङले बताए ।